
काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा आईतवार आयोजित ‘डिजिटल इकोनोमीः स्थानीय रोजगारी र पहुँच विश्वबजार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले यस क्षेत्रमा उच्च महत्वाकाङ्क्क्षा राख्नुपर्ने र निजी क्षेत्रको क्षमतामाथि भरोसा गर्नुपर्ने बताए ।
उनले सरकारले मात्र सबै कुरा जान्दछ भन्ने मानसिकता त्याग्नुपर्ने उल्लेख गर्दै निजी क्षेत्रको विज्ञता र बजारको गतिशीलतालाई स्वीकार गर्न आग्रह गरे । डिजिटल अर्थतन्त्रलाई नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्ड (ब्याकबोन) बनाउन सकिने सम्भावना औँल्याउँदै उनले यसलाई कुनै एक राजनीतिक दलको मात्र नभई साझा एजेण्डा बनाउनुपर्ने बताए । उनले यस क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक नीतिगत र कानूनी सुधारमा संसदमा रहेका सबै दलका सांसदहरू सहयोग गर्न तयार रहेको समेत स्पष्ट पारे ।
उनले भने, हामी के चाहन्छौँ भने सरकारले यस क्षेत्रमा अझ प्रभावकारी रूपमा काम गरोस् । यसका लागि हाम्रा सबै सांसद संसद्मा आवश्यक सहयोग गर्न तयार हुनुहुन्छ, हामी पनि पूर्ण रूपमा सहकार्य गर्न तयार छौँ । तर सरकारले दुई कुरामा स्पष्ट हुनुपर्छ । पहिलो, यस क्षेत्रमा स्पष्ट महत्त्वाकाङ्क्क्षी योजना हुनुपर्छ । दोस्रो, निजी क्षेत्र र बजारप्रति विश्वास गर्नुपर्छ । सबै ज्ञान र क्षमता सरकारसँग मात्रै छ भन्ने सोच उचित होइन । जान्ने मानिसहरू सरकारबाहिर पनि छन् । निजी क्षेत्रमा काम गरिरहेका साथीहरू अत्यन्त सक्षम र अनुभवी हुनुहुन्छ । मैले पनि उहाँहरूसँग काम गर्ने र सिक्ने अवसर पाएको छु । उहाँहरूको ज्ञान, क्षमता र अनुभव उत्कृष्ट छ । नेपालीहरू संसारभर आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्, नेपालभित्र पनि धेरै सक्षम जनशक्ति छन् । सरकारले निजी क्षेत्रको योग्यता र क्षमतामाथि भरोसा गर्दै साझेदारीको भावना अपनाउनुपर्छ । संसद्मा पनि सबै दलबीच सहकार्य गरेर यो क्षेत्रलाई अगाडि बढाउनुपर्छ । डिजिटल अर्थतन्त्र नेपालको अर्थतन्त्रको एउटा महत्वपूर्ण आधार बन्न सक्छ । त्यसैले यस क्षेत्रमा थप काम गर्नुपर्छ भन्ने उद्देश्यले हामीले आज यो बहस शुरु गरेका हौँ ।’
संसदमा यस विषयमा हुने बहसलाई थप प्रभावकारी र तथ्यपरक बनाउन डा. गोविन्द पोखरेल नेतृत्वको टोलीले आवश्यक सामग्री र अध्ययन प्रतिवेदनहरू सांसदहरूलाई तत्काल उपलब्ध गराउने तयारी गरिरहेको जानकारी समेत दिए ।














