Logo
Logo

डिलरहरूमा ग्यास नभेटिएपछि रित्तो सिलिण्डर बोकेर टेकु पुगे सर्वसाधारण 


0
Shares

काठमाडौं । काठमाडौंको टेकुस्थित नेशनल ट्रेडिङको शाखा कार्यालय परिसरमा खाना पकाउने एलपी ग्यास लिन सर्वसाधारणको लामो लाइन देखिएको छ । 

The current image has no alternative text. The file name is: teku.jpg

सुगम ग्यास, नेपाल ग्यास, एभरेस्ट ग्यास, एलपी ग्यास, राजधानी ग्यास र त्रिवेणी ग्यास लगायत विभिन्न कम्पनीका सिलिण्डर हातमा, काँधमा र मोटरसाइकलमा बोकेर नागरिकहरू पालो पर्खिरहेका छन् । नेपाल आयल निगमले भने देशमा र विशेष गरी काठमाडौं उपत्यकामा एलपी ग्यासको कुनै अभाव नरहेको र आपूर्ति व्यवस्था पूर्ण रूपमा सहज रहेको दाबी जारी राखेको छ ।

तर खुद्रा डिलरहरूमा ग्यास नभेटिएपछि रित्तो सिलिण्डर बोकेर टेकु पुगेका सर्वसाधारण भने निगमको दाबी र धरातलीय यथार्थ बीच ठूलो अन्तर रहेको बताउँछन् । नेशनल ट्रेडिङको शाखा कार्यालय टेकुबाट बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मात्र ग्यास विक्री–वितरण गर्ने समय तोकिएको छ । मानिसहरू हिलो र घाम–पानीको प्रवाह नगरी लाइनमा उभिएका छन् ।

नेपाल आयल निगमका अधिकारीहरूले ग्यास उद्योगीहरूलाई नियमित सुविधा दिइएको र भारतबाट बुलेटहरू निर्बाध रूपमा भित्रिरहेको दाबी गरेका छन् । निगमकाअनुसार नागरिकले हडबडाएर आवश्यकता भन्दा बढी ग्यास सञ्चय गर्न खोज्दा र स्थानीय डिलरहरूले कृत्रिम अभाव सिर्जना गर्दा समस्या देखिएको हो ।

टेकुमा हजारौँको लाइन छ । यदि आयल निगमसँग पर्याप्त ग्यास छ भने भान्सा किन रित्ता छन् ? भन्दै वितरण केन्द्रमा सञ्चारकर्मीहरू पुग्दा नागरिकहरूले आयल निगम र वाणिज्य विभागको फितलो अनुगमनमाथि आक्रोश व्यक्त गरेका छन् । कतिपय मानिसहरू सिलिण्डरमै बसेर थकान मेट्दै पालो पर्खिरहेका देखिन्थे । नेशनल ट्रेडिङ टेकु शाखाबाट ग्यास विक्रीका लागि तोकिएको बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्मको ६ घन्टे समयसीमा आफैँमा पर्याप्त नभएको उपभोक्ताको गुनासो छ ।

सिमित घण्टा मात्र विक्री खुला गर्दा हजारौँका सङ्ख्यामा रहेका उपभोक्ता एकै ठाउँमा थुप्रिन पुगेका छन् । ग्यास लिनका लागि उपभोक्ताहरूले टोकन प्रणाली वा अनलाइन दर्ताको व्यवस्था हुनुपर्ने माग गरेका छन् । अहिलेको परम्परागत भौतिक लाइनका कारण वृद्धवृद्धा, महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई अझ बढी कठिनाइ भएको छ ।

उपभोक्ता अधिकारकर्मीहरूकाअनुसार नेपाल आयल निगमले काठमाडौंका डिलरहरूमा ग्यास भए–नभएको र कालोबजारी भएको छ कि छैन भनेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समन्वय गरी बजार अनुगमन गर्नुपर्ने आवश्यकता छ । केवल विज्ञप्ति जारी गरेर ‘ग्यास पर्याप्त छ’ भन्दै पन्छिनु भन्दा उपभोक्ताको घरदैलोमै ग्यास पुग्ने सहज वातावरण बनाउनुपर्ने आवाज उठेको छ ।

प्रतिक्रिया दिनुहोस्