Logo
Logo

कप्तानगन्जमा कसले रोप्यो द्वन्द्वको बीउ ?


0
Shares

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रबाट नजिकै रहेको सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा हिन्दू र मुस्लिम समुदाय प्रायः मिलेर बसेका थिए । कप्तानगन्जमा मुस्लिम समुदायको जनसंख्या कम भएपनि हिन्दू समुदायसँग मिलेर बसेको बेला गत साता आइतबार अचनाक झडप भयो । सामान्य झैझगडाले यति ठूलो रुप लिनेमा शंकासमेत नगरेको अवस्थामा अनेकन शंका उपशंका उत्पन्न भएको छ ।

यसअघि दुवै सम्प्रदायका मानिसहरूको बसोबास मिल्ती रहेको थियो। युवाहरूसमेत संयम थिए। सानोतिनो समस्या भए पनि मिलेरै बसेको थियौँ। केही पर्दा दुवै समूहलाई राखेर समस्याको हल निकालिने गरिएको तर समान्य झगडामा गोली चल्ने परिस्थिति बनेर दुई जनाको ज्यान गुम्यो । कतिपय जानकार यो घटना हुनुमा आइतबारको घटनाले मात्र काम नगरेको बताउँछन् । यहाँ यसअघिको घटनाले समेत काम गरेको जानकार बताउँछन् ।

घटना भएको चोक यसअघि सार्वजनिकस्थल थियो। केही वर्ष पहिले यहाँ हिन्दू समुदायले यस स्थललाई आफ्नो बनाए । तर, सार्वजनिकस्थल भएकाले त्यहाँ मुस्लिम समुदायले पनि विभिन्न कार्यक्रम गर्दै आए । कार्यक्रम शान्तपूर्वक चलिरहेका बेला कसको उक्साहटमा विवाद सिर्जन भयो भन्ने बारेमा दुवै पक्षले भेउनै पाएनन । स्थानीयबासीहरुबीचमा सामान्य विवाद भएपनि उनीहरुले आफ्नै पहलमा विवाद मिलाइरहेका थिए । तर यसपटक हिन्दू मुस्लिम दुवै पक्षले विवाद सुल्झाउन सकेनन ।

पछिल्ला समय नेपालमा साम्प्रदायिक द्वन्द्व बढाउने खाल क्रियाकलापहरु बढेको सुरक्षा विश्लेषण रहेको छ । हालै कप्तानगञ्जमा भएको साम्प्रदायिक दंगाको आगो विस्तारै तराईका विभिन्न जिल्लामा फैलियो । यसका पछाडि धार्मिक उद्देश्यमात्र नदेखिएको सुरक्षा मामिलाका जानकारहरुको दावी छ । साम्प्रदायिक द्वन्द्व फैल्याउन केही राजनीतिक दलका कार्यकर्ताहरु पनि उद्दत रहेको विश्लेषण गर्न थालिएको छ । यद्यपि, सरकार र सत्तारुढ दलले संसद्मा रहेका दलहरुसँग सो घटनालाई साम्य पार्न संवाद पनि ग¥यो । विभिन्न कट्टरपन्थी धार्मिक संगठनहरु पनि यसमा सक्रिय बनेको सुरक्षा अधिकारीहरुको बुझाइरहेको छ ।

धार्मिक द्वन्द्वको नाममा मधेशमा फैलिएको आगोबारे विश्लेषण गर्न प्रधानमन्त्री बालेन्द्र साहले बुधबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाए । बैठकमा सुरक्षा अधिकारीहरुले तराई–मधेशमा फैलिएको आगोमा घिउ हाल्ने काम विभिन्न बाह्य गुप्तचर संस्थादेखि धार्मिक संगठनहरुसँगै राजनीतिक दलकै अप्रत्यक्ष संलग्न देखिएको सुरक्षा विश्लेषण गरियो ।

नेपालमा हिन्दू वा मुस्लिम दुबै कट्टरपन्थी समूहहरु सक्रिय बनेको बेला सुनसरीको कप्तानगन्जको घटना भएको थियो । हालैको घटनामा हिन्दू उचाल्ने काम हिन्दूवादी कट्टरपन्थीहरुले र मुस्लिम उचाल्ने काम मुस्लिम कट्टरपन्थीहरुले गरिरहेको सुरक्षा विश्लेषकहरुको दाबी छ । यो साम्प्रदायिक भावना भड्काउन सत्ताबाट बाहिर पुगेका राजनीतिक दलहरुको हात भए पनि त्यसको पुष्टि भने हुन सकेको छैन ।

सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको दुईसमूहबीचको झडपले विस्तारै मधेसका अन्य जिल्लामा स¥यो । सिराहा, सप्तरी,धनुषा, सर्लाही, पर्सासम्म द्वेषको भावना फैलियो । शुरुमा सरकार समस्या समाधानतर्फभन्दा पनि राजनीतिक स्टन्ट मै देखियो । जसले गर्दा संघीय सरकार कप्तानगन्ज पुग्न पाँच दिनभन्दा बढी समय लाग्यो ।

अहिले नेपाल–भारत सीमा क्षेत्रका कतिपय स्थानमा दर्ता नभएका धेरै संख्यामा मदरसाहरु सञ्चालनमा रहेको स्थानीयहरु दाबी गर्छन् । ति मदरसाहरुबाट अवाञ्छित गतिविधि भइरहेको हिन्दूवादीहरु बताउँछन् । मुस्लिम पक्षले पनि भारततर्फबाट हिन्दू अतिवादीहरुको सक्रियता बढेको आरोप लगाउँछन् ।

नेपालमा साम्प्रदायिक भावना धेरै पाइदैन । तर, पछिल्ला वर्षहरुमा आम मानिसमा साम्प्रदायिक भावना फैलाउन ‘फण्डिङ’ हुने गरेको सुरक्षा संयन्त्रको प्रतिवेदनमा उल्लेख भएपनि सरकारले त्यसलाई राम्रोसँग अनुगमन गर्न सकेको छैन । सामाजिक सञ्जालहरु मार्फत एक–अर्काको धर्मविरोधी भावना फैलाउन विभिन्न समूहहरु सक्रिय बनेका छन् । सामान्य दैनिकी चलाइरहेका आम मानिसमा एक–अर्काविरुद्ध प्रयोग गरेर राजनीतिको रोटी सेक्नेहरु अहिले सक्रिय बनेका छन् । सुरक्षा संयन्त्रको विभिन्न रिपोर्टले पनि सामाजिक सद्भाव विथोल्न पैसाको प्रयोग हुन थालेको पनि देखाएको छ ।

धार्मिक सद्भाव रहेको नेपाली समाजमा विभिन्न १० प्रकारका धर्म मान्नेहरु मिलेरै बस्ने गरेका छन् । एक–अर्काका चाडपर्व सहअस्तित्वसहित मनाउने सुन्दर पक्ष यतिबेला कप्तानगन्जमा मात्र होइन अन्य स्थान पनि प्रताडित बनेको छ ।

धार्मिक–साम्प्रादायिक द्वन्द्वको जोखिम

सुनसरीको देवानगन्ज–३ स्थित कप्तानगन्जमा भएको घट्नाले देशभर धार्मिक–साम्प्रादायिक द्वन्द्वको जोखिम बढायो । जोखिमकै कारण सरकारले देशभर सदभाव र्याली निकाल्न र सदभाव कायम गर्न अपिल गरिरहेको छ । कप्तानगन्जबाट उत्पन्न भएको झिल्कोले मधेश प्रदेश र कोशी प्रदेशका केही जिल्लमा असर पारेपछि सरकारले सबैतिर सदभाव र्याली निकाल्न अपिल गरेको थियो । सुरक्षाका लागि अर्कोतर्फ बर्दीधारी सेना, प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेरा छ ।

सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वपक्षीय बैठकहरु गरेर त्यसलाई न्यूनीकरण गर्ने प्रयास गरिरहेका छन् । तर वर्तमान सरकारले धार्मिक साम्प्रादायीक द्वन्द्व निम्तने खतरालाई न्यूनिकरण भने अझै गर्न सकेको छैन ।

सीमा सुरक्षासँगै दंगा नियन्त्रणको समेत कार्यादेश भएको सशस्त्र प्रहरी बल, नेपालले तराई–मधेशमा साम्प्रदायिक र जातीय द्वन्द्व गराएर समाजलाई विभाजित गर्ने तत्वहरू सक्रिय रहेको निष्कर्ष निकालेको भएपनि सरकारले यसलाई अध्ययन समेत गरेको छैन ।

उक्त प्रतिवेदनमा तराई–मधेशका विभिन्न संस्थाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ÷आईएनजीओ) को सहयोग रहेको भन्दै नियमन गर्न सुझावसमेत दिइएको थियो । त्यसबारे जानकार सशस्त्र बलका एक उच्च अधिकृतले राजनीतिक नेतृत्वले त्यसबेला आफूहरूको ‘ब्रिफिङ’ लाई गम्भीरतापूर्वक नलिएको बताए ।

प्रतिवेदनमा सशस्त्र प्रहरीले ‘धर्मका नाममा अतिवादी समूहबाट भड्काउने र उक्साउने’ गतिविधि भइरहेको भन्दै सामाजिक विवाद तथा द्वन्द्वको उचित ढंगले व्यवस्थापन गर्न आवश्यक रहेको सुझावसमेत दिएको थियो । ‘नेपालले छिमेकी मुलुक भारतको मणिपुरमा हालै मात्र भएको घटना तथा विभिन्न देशमा जाति, धर्म र भाषाका नामबाट भएको जनधनको क्षतिबाट पाठ सिकेर समयमै जातीय तथा धार्मिक विवादलाई समाधान गर्न सक्नुपर्दछ,’ प्रतिवेदनमा भनिएको थियो ।

त्यसबेला भारतको मणिपुरमा मेइती र कुकी समुदायबीच हिंसात्मक झडप भइरहेको थियो । सयौं मानिसको मृत्यु र हजारौं घरमा आगजनी भएको उक्त घटना स्मरण गराउँदै सशस्त्रको प्रतिवेदनमा स्थानीयस्तरमा सद्भाव कायम गराउन पहलको आवश्यकतासमेत औंल्याइएको थियो । तर सरकारले यस्तो प्रतिवेदनलाई सधै वेवास्था गर्दै आएको छ ।

यही बेला सुनसरीकोे देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा गत आइतबार अबेर राति दुई समुदायबीच उत्पन्न विवादले हिंसात्मक रुप लियो । सो घटनामा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या चार पुगिसकेको छ । प्रहरी र सर्वसाधारणसहित २२ जना घाइते भए । जसमा १० जनालाई गोली लागेको छ । यसर्थ पछिल्लो अवस्थामा घट्ना केही साम्य हुने देखिएपनि धार्मिक तुष भने गहिरो देखिएको छ । सुनसरीकोे कप्तानगञ्ज पहिलादेखि नै संवेदनशील क्षेत्र मानिन्छ । यस क्षेत्रमा मुस्लिम समुदायको मोहरम पर्वको बेला पनि सामुदायीक तनाव भएको सुरक्षा अधिकारीहरुको दाबी छ ।

विवादको जड के थियो ?

साउनलाई हिन्दूहरूले बोलबमको माध्यमबाट शिवको महिनाका रूपमा पूजा गर्छन् । त्यही क्रममा कप्तानगञ्जका हिन्दूहरूले आइतबारदेखि नै सोमबारका लागि शिव भजन र कीर्तन राख्न कप्तानगञ्जको नयाँ हटिया क्षेत्रमा धार्मिक गीतसहित डिजे बजाइरहेका थिए ।

कप्तानगञ्जको नयाँ हटिया क्षेत्रमा धार्मिक माहोलमा मग्न हिन्दू युवाहरुलाई अर्को समुदाय अर्थात् त्यहाँका मुस्लिम समुदायका केही युवाहरूले आफ्नो टोलतिर फर्काएर ठूलो आवाजसहित डिजे बजाइदिएको भन्ने आरोप लगाएका छन् । साउन महिनालाई विशेष मान्दै त्यहाँ हिन्दूहरूले पहेँलो रंगका धार्मिक झण्डा र ध्वजापताका पनि राखेका थिए ।

चोकचोकदेखि हाईमास लाइटमासमेत हिन्दूहरूले धार्मिक झण्डा राखेका थिए । तर चोकचोकमा राखिएकामध्ये केही झण्डा भने हटाइएको थियो । झण्डा हटाएको र राखेको कुरालाई लिएर दुई पक्षीय युवाहरूबीच सुरूमा भनाभन चल्यो ।

त्यससँगै आइतबार राति सवा १० बजेतिर साउनमा हुने बोलबमका लागि हिन्दू धर्मावलम्बीहरू कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगञ्ज चोकतर्फ गइरहेका थिए । डिजेको चर्को आवाजलाई लिएर अर्को समुदायका युवाले विरोध जनाए । त्यसक्रममा दुवै पक्षबीच सुरू भनाभन ठेलाठेलमा परिणत हुँदै झडप भयो ।

कप्तानगञ्ज हिन्दू बाहुल्यता भएपनि अलपसंख्यक मुस्लिम समुदायकोे प्रभावशाली बसोबास भएको क्षेत्र हो । बढ्दो सामाजिक असहिष्णुता र विगतमा पनि विभिन्न स्थानमा यस्तै किसिमका घटना प्रवृत्ति दोहोरिने गरेकाले सुरक्षा विश्लेषणमा नै चुक भएको हो कि भन्ने प्रश्न उठेको छ । सुरक्षाका हिसाबले कप्तानगञ्ज लगायत सुनसरीका सीमावर्ती इलाका निकै संवेदनशील मानिन्छन् ।

नेपालमा हिन्दू मुस्लिम कति छन् ?

नेपालमा कुल जनसंख्या २ करोड ९१ लाखको ८१.२ प्रतिशत हिन्दू रहेका छन् भने बौद्ध धर्मालम्बीहरु ८.२ प्रतिशत, मुस्लिम धर्म मान्ने संख्या ५.१ प्रतिशत रहेका छन् । तीबाहेक किरात धर्म मान्नेहरु ३.२ प्रतिशत, इसाइ धर्म मान्नेहरु १.८ प्रतिशत र प्राकृतिक धर्म मान्ने ०.३ प्रतिशत रहेको तथ्याङ्क छ । बोन धर्म मान्ने ०.२ प्रतिशत, शिख र जैन धर्म मान्ने ०.१ प्रतिशत रहँदा बहाइ धर्मालम्बी ५ सय ३७ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्