काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनले दक्षिण एसियामा बढाएको क्षेत्रीय सहकार्य, दिगो विकास र साझा समृद्धि प्रवर्द्धनमा नेपालले सेतुको भूमिका निर्वाह गर्न चाहेको बताएका छन् ।

नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (एनआईआईसीई) ले आयोजना गरेको ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया’ विषयक अन्तर्राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै उनले सरकारले आर्थिक कूटनीति र सीमापार सम्पर्क सञ्जाल विस्तारलाई प्राथमिकतामा राखेको बताए ।
नेपालले चीन र दक्षिण एसियाबिच आर्थिक तथा क्षेत्रीय सहकार्य विस्तार गर्न आफ्नो भौगोलिक अवस्थालाई अवसरका रूपमा उपयोग गर्नुपर्नेमा उनले जोड दिए । उनले क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउँदै दिगो विकास र साझा समृद्धिका लागि सबै पक्षबिच सहकार्य आवश्यक रहेको बताए । नेपालले चीन र दक्षिण एसियाली मुलुकबिच व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा पुलको भूमिका खेल्न सक्ने उनको भनाइ थियो ।














