
जन्मँदा मान्छेको कुनै जात हुँदैन । कुनै धर्म हुँदैन । कुनै भाषा हुँदैन । हुन्छ त केवल एउटा सास । एउटा रुवाइ । उसलाई थाहा हुँदैन– म हिन्दु हो कि मुस्लिम ? बौद्ध हो कि किराँत ? इसाई हो कि अर्को कुनै आस्थाको अनुयायी ? उसले न मन्दिर चिन्छ, न मस्जिद । न चर्च चिन्छ, न गुम्बा ।
तर जमिएपछि समाजले उसको अनेकौँ परिचय दिन थाल्छ । उसलाई भनिन्छ– ‘तिमी यो जातका हौ’, ‘तिमी यो धर्मका हौ’ । त्यसपछि विस्तारै उसको चेतनामा सीमाहरू कोरिन थाल्छन् । ऊ जन्मिँदा मानिस थियो, तर हुर्कँदै जाँदा उसलाई मानिसभन्दा पहिले कुनै धर्म, कुनै जात, कुनै समुदाय र कुनै समूहको प्रतिनिधि बन्न सिकाइन्छ ।
विडम्बना के छ भने, यी परिचयहरू आफैँमा समस्या होइनन् । समस्या तब सुरु हुन्छ, जब परिचयलाई श्रेष्ठताको आधार बनाइन्छ । जब धर्मलाई करुणाको बाटो होइन, प्रतिस्पर्धाको हतियार बनाइन्छ । जब आस्थालाई आत्मशुद्धिको साधन होइन, घृणा फैलाउने माध्यम बनाइन्छ । त्यसपछि मानिस मानिससँग होइन, आफ्नै पूर्वाग्रहसँग बाँच्न थाल्छ ।
विश्वमा आजसम्म कुनै पनि धर्म युद्धको घोषणापत्र बनेर जन्मिएको छैन । तर, आज सबैभन्दा ठूलो लडाइँ धर्मकै नाममा भइरहेको पाइन्छ । धर्मको जन्म मानिसलाई अनुशासन, नैतिकता, सहिष्णुता र करुणाको बाटो देखाउन भएको थियो । जीवनको अर्थ, मृत्युको रहस्य, प्रकृतिको शक्ति र अस्तित्वको प्रश्नसँग जुध्दै विभिन्न सभ्यताले आ–आफ्नै आस्था निर्माण गरेको थियो । त्यसैले पूजा गर्ने विधि फरक भयो, प्रार्थनाको भाषा फरक भयो, संस्कार फरक भए । तर उद्देश्य एउटै रह्यो– मानिसलाई असल बनाउने ।
त्यसैले आज संसारका लाखौँ मन्दिरहरूमा शङ्ख बज्छ, मस्जिदहरूबाट अजान गुञ्जिन्छ, चर्चका घण्टीहरू बज्छन्, गुम्बामा प्रार्थनाका मन्त्रहरू सुनिन्छन्, साकेला थानमा र माङहिममा पुर्खाप्रति श्रद्धा व्यक्त गरिन्छ । कसैले वेदका मन्त्र पढ्छ, कसैले कुरआनका आयत तिलावत गर्छ, कसैले बाइबल पढ्छन्, कसैले त्रिपिटकका शिक्षामा ध्यान गर्छ । तर कतै धर्मको नाममा युद्ध गर्नुपर्छ भनिँदैन ।
कुनै पनि धर्मले निर्दोष मानिसको हत्या गर्न सिकाएको छैन । कुनै पनि पवित्र ग्रन्थले छिमेकीलाई घृणा गर्न भनेको छैन । कुनै पनि आस्थाले बदलालाई धर्मको नाम दिएको छैन । सबै धर्मको साझा अर्थ प्रेम हो । सबै दर्शनको अन्तिम निष्कर्ष करुणा हो । सबै आस्थाको मूल सन्देश मानव मर्यादाको सम्मान हो । धर्मको वास्तविक स्वरूप त त्यो हो, जहाँ भोकै मानिसलाई भोजन दिइन्छ, दुःखी मानिसको आँसु पुछिन्छ, अन्यायमा परेकाको पक्षमा आवाज उठाइन्छ र फरक विश्वास भएका मानिसलाई पनि आफ्नै परिवारझैँ सम्मान गरिन्छ । धर्म भवनभित्र होइन, व्यवहारभित्र देखिनुपर्छ ।
आज संसारका सबै आमाबाबुको सपना एउटै छ । हिन्दु आमाले पनि आफ्ना छोराछोरी सुरक्षित रहून् भन्ने चाहन्छिन् । मुस्लिम आमाले पनि त्यही प्रार्थना गर्छिन् । बौद्ध बाबुले पनि सन्तानको उज्यालो भविष्य खोज्छन् । इसाई परिवारले पनि आफ्ना बालबालिकाको हाँसो कहिल्यै नहराओस् भन्ने कामना गर्छ । कुनै पनि आमाले आफ्नो कोखबाट जन्मिएको सन्तानलाई युद्धको मैदानमा पठाउने सपना देख्दिनन् । कुनै पनि बाबुले आफ्नो छोराको हातमा हिंसाको हतियार देख्न चाहँदैनन् । किनकि आमाको आँसुको कुनै धर्म हुँदैन । बाबुको चिन्ताको कुनै जात हुँदैन । एउटा बालकको मुस्कानको कुनै सम्प्रदाय हुँदैन ।
तर दुर्भाग्य, इतिहासका धेरै रक्ताम्मे पानाहरू धर्मले होइन, धर्मको गलत प्रयोगले लेखिएका छन् । धर्मकै गलत प्रयोगका कारण आज हामी पनि आपसमा भाइभाइ जुधिरहेका छौँ, मारामारको स्थितिमा पुगेका छौँ । त्यसैको पछिल्लो उदाहरण हो– सुनसरीको कप्तानगञ्जमा भएको घटना । उक्त घटनामा तीन जना निर्दोषको ज्यान गयो, तीन परिवारको खुसी लुटियो । त्यति मात्र होइन, यसले सिङ्गो समाजलाई विभाजन गरिदियो ।
त्यस घटनामा ज्यान गुमाउने व्यक्तिहरू कुनै एउटा धर्मका अनुयायी मात्र थिएनन्, उनीहरू कसैका छोरा, कसैका श्रीमान्, कसैका बुबा र कसैका दाजुभाइ थिए । उनीहरूको मृत्युमा एउटा समुदाय मात्र रोएन, समग्र मानवता रोयो । उनीहरूको चिहानमा कुनै एउटा धर्मको मात्र पीडा पुरिएको छैन, त्यहाँ त सिङ्गो नेपाली समाजको साझा घाउ पुरिएको छ ।
नेपालको शक्ति कहिल्यै एकरूपतामा थिएन । नेपालको शक्ति सधैँ विविधतामा रह्यो । यही देशमा एउटै गाउँमा मन्दिरको घण्टी र मस्जिदको अजानसँगै सुनिन्छ । यही देशमा बुद्ध जयन्तीमा हिन्दुहरू पनि सहभागी हुन्छन्, दशैँमा मुस्लिम र इसाई साथीहरू टीका थाप्न जान्छन्, ईदमा हिन्दु छिमेकीहरू सेवइयाँ खान पुग्छन्, उभौली–उधौलीमा सबै समुदाय रमाउँछन् । यही साझा संस्कृति नेपाल हो । यही सहअस्तित्व नेपालीपन हो ।
नेपाल कुनै एउटा जातिले बनाएको देश होइन । कुनै एउटा धर्मले बनाएको देश होइन । यो गुरुङको पनि हो, मधेसीको पनि हो, राई–लिम्बूको पनि हो, थारूको पनि हो, नेवारको पनि हो, तामाङको पनि हो, मुस्लिमको पनि हो, ब्राह्मणको पनि हो, दलितको पनि हो । यो हिमालको पनि हो, पहाडको पनि हो, तराईको पनि हो । यो सबैको साझा सपना हो । यही विविधता नेपालको राष्ट्रिय पहिचान हो ।
आज हामी एउटा निर्णायक मोडमा उभिएका छौँ । हाम्रो अगाडि दुई बाटा छन् । एउटा बाटो अफवाहको हो, जहाँ घृणा छ, हिंसा छ, विभाजन छ । अर्को बाटो संवादको हो, जहाँ सम्मान छ, सहिष्णुता छ, विश्वास छ । प्रश्न यो होइन कि हामी कुन धर्मका हौँ ? प्रश्न यो हो कि हामी कस्ता मानिस बन्न चाहन्छौँ ? हामीले आफ्ना सन्तानलाई के सिकाउँदै छौँ ? धर्मको नाममा घृणा, कि मानवताको नाममा सम्मान ?
राष्ट्र केवल संविधानले टिक्दैन । राष्ट्र केवल सीमाले पनि टिक्दैन । राष्ट्र आस्था र विश्वासले टिक्छ । एउटा समुदायले अर्को समुदायमाथि राखेको विश्वासले टिक्छ । एउटा नागरिकले अर्को नागरिकलाई दिएको सम्मानले टिक्छ । जब त्यो विश्वास भत्किन्छ, तब देशको नक्सा जस्ताको तस्तै भएपनि राष्ट्र कमजोर हुन थाल्छ ।
त्यसैले आज नेपाललाई सबैभन्दा धेरै चाहिएको कुरा नयाँ सडक होइन, नयाँ विमानस्थल होइन, नयाँ भवन पनि होइन । नेपाललाई सबैभन्दा धेरै चाहिएको कुरा विश्वास हो । एकअर्काप्रतिको भरोसा पुनः स्थापित गर्ने साहस हो । असहमतिलाई हिंसामा होइन, संवादमा रूपान्तरण गर्ने संस्कृति हो । आफ्ना सन्तानलाई धर्मभन्दा पहिले मानवता सिकाउने शिक्षा हो ।
आउनुहोस्, आज फेरि आफ्नै मनसँग एउटा वाचा गरौँ । अफवाहभन्दा सत्य रोजौँ । पूर्वाग्रहभन्दा विवेक रोजौँ । कट्टरताभन्दा करुणा रोजौँ । घृणाभन्दा प्रेम रोजौँ । हिंसाभन्दा सद्भाव रोजौँ । किनकि अन्ततः इतिहासले कसले कुन धर्म मान्यो भनेर सम्झँदैन । इतिहासले सम्झन्छ– कसले मानिसलाई बाँड्ने होइन, जोड्ने काम ग¥यो । कसले आगो निभायो, कसले आगो लगायो । धर्मभन्दा ठूलो देश हो, र देशभन्दा पनि ठूलो मानवता । मानवता बाँचे मात्रै धर्म बाँच्छ, संस्कृति बाँच्छ, राष्ट्र बाँच्छ । मानवता हरायो भने विजय कसैको हुँदैन, हार सिङ्गो नेपालकै हुन्छ ।














