काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिम पहिरोमा परी मृत्यु भएका नेपालीमध्ये विश्व प्रशिद्ध हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित चारजनाको शव घटनास्थलबाट इस्लामावाद ल्याइएको छ ।

इस्लामावादस्थित नेपाली दूतावास स्रोतका अनुसार उनीहरूको शव नेपाली समयअनुसार दिउँसो साढे १ बजे इस्लामावाद ल्याइएको थियो ।
शुक्रबार दिउँसो इस्लामावाद ल्याइएकामा निर्मल पुर्जा, किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव रहेको छ । एकजना नेपालीको शव घटनास्थमै रहेको छ ।
ब्रोड पिक हिम पहिरोमा परी ६ जना नेपालीसहित १० जनाको मृत्यु भएको थियो । मृत्यु हुने ६ जना नेपालीमध्ये पुरबहादुर गुरुङ ‘युक्त’को शव बिहीबार (साउन २१ गते) नेपाल ल्याइएको थियो ।
घटनास्थलमा अझै एकजना नेपाली नवाङ थिन्डु शेर्पा, एकजना पाकिस्तानी र एकजना अमेरिकीको शव रहेको जनाइएको छ ।
विश्व प्रशिद्ध हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ) को शव भने उनको परिवारले बेलायत लग्ने भएको छ । स्रोतका अनुसार निम्स दाइको अन्तिम संस्कार बेलायतमै गरिनेछ ।
यस सम्बन्धमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीसँग ज्ञिजासा राख्दा उनले भने, “यो विशुद्ध परिवारको चाहनामा भरपर्ने कुरा हो ।”
उच्च भूभागमा गएको उक्त हिम पहिरोबाट शवहरू झिक्ने र फिर्ता ल्याउने कार्यमा पाकिस्तानी निकाय र नेपाली टोलीसमेत अहोरात्र खटेको उनले बताए ।














