मधेश घटनाको तनावका बीच लक्ष्मणलाल कर्णले बालेनसँग भेट्न निकै प्रयास गरे । प्रमुख सल्लाहकार कुमार बेनले आज–आज, भोलि–भोलि भन्दै टारे । तै पनि भेट भइहाल्छ कि भनेर बेनसँग बिन्ती बिसाए, के टेर्थे बालेनले ?

त्यसैबीच उनी निराश भएर मधेश के मात्रै झरेका थिए, घरमा टेलिभिजन हेर्दै गर्दा बालेनले मधेशवादी नेताहरुसँग भेटघाट गरेको समाचार सुने । कुराकानी के भयो त्यो त उनलाई थाहा भएन, तैपनि टेलिभिजनमा बालेनको अनुहार देखेर कर्णको कन्पराको रौं ठाडो भयो र उनले भने– चुनावको बेला मधेशको छोरो भन्थे, कसको छोरो हो ? त्यो त समयले देखाउँला नि, कसो राजेन्द्र महतोज्यू ?
प्रधानमन्त्री खोइ त ?
मधेशमा आगो दन्कदै गर्दा रास्वपा सभापति रवि लामिछाने काठमाडौंमा कुँवा खन्दै थिए । सत्तारुढ दलका सभापतिले बोलाएपछि एकै क्षण जानै प¥यो भनेर टाउको कन्याउँदै गगन थापा सिंहदरबार पुगे ।
सबै दलका नेताहरुको अनुहार सर्वदलीय बैठकमा देखियो तर प्रधानमन्त्रीको अनुहार नदेखेर उनले रविसँग प्रश्न गरे– खै त प्रधानमन्त्री ?
क्या फसाद, आउँछ भनौँ टेर्दैन, आउँदैन भनौ सबै उठेर जालान् भन्ने पिर । तैपनि रविले थामथुम गरेर बैठक सकेको देखेर गगन थापाले भन्दै थिए बिचरा रवि ज्याद्रोको अगाडि उनको के लाग्थ्यो र ? गगनको कुरा सुनेर रवि पेट मिचिमिची हाँसे ।
स्वर्णिमको व्यंग्य
सुरुदेखि नै बालेनको पेलानमा परेर सासै अड्किएका स्वर्णिम वाग्लेलाई अस्तिको हप्ता के झोक चल्यो कुन्नी, बालेनलाई व्यंग्य गरी हाले– मैले त एक जना त्यो पनि अवैतनिक सल्लाहकार राखेको छु ।
बलेनले २१ जना सल्लाहकार राख्दा हुने मैले एक जना राख्दा पनि के को ङयारङयार ? कसो सुलिन लम्सालज्यू ?
बालेन ट्वाँ
रवि पनि झोक्की मान्छे छन्, एक झोंकमा बालेनलाई पाँच वर्षका लागि प्रधानमनत्री पद छाडिदिए, तै पनि बालेनको चित्त बुझेको छैन, रविमाथि शंका ग¥या ग¥यै ।
त्यही भएर होला पत्रकारहरु सामु रविले झोक्किदै भने – पाँच वर्ष होइन, दश वर्ष त्याग्न तयार छु । कागज ल्याउनुस् यही सही गर्छु भनेको सुनेर बालेन पनि ट्वाँ परे ।














