Logo
Logo

काम भनेको सानो-ठूलो हुँदैन, गर्दै जानुपर्छ


252
Shares

हातमा सीप र जागर भए जो पनि आत्मनिर्भर बन्न सक्छ भन्ने उदाहरणीय पात्र हुन् दिलाशा बासुकला । उनी सामान्य रंगका रिवन र वायरबाट बुकेहरु बनाएर अनलाइनमा बेच्छिन् । उमेरले भर्खर १७ बर्ष लागेकी दिलाशाले यो व्यवसाय गरेको डेढ बर्ष मात्र भयो । उनी छोटो समयमा नै राम्रो व्यवसाय गर्ने महिला उद्यमी हुन् ।

यतिखेर उनले बनाएका विभिन्न आकर्षक कृत्रिम फूलका बुकेहरुको मार्केटमा निकै माग छ । भर्खरै १२ कक्षा उत्तिर्ण गरेकी दिलाशाले कृत्रिम फूल बनाएर आफ्नै व्यवसायमा रमाइरहेकी छिन् । सानदेखि विजनेस गर्ने सपना बोकेको र आफ्नै केही गरांै भन्ने चाहना भएकाले नै यसतर्फ आकिर्षत भएको उनी बताउँछिन् । उनै दिलशा बासुकलासँग रेजिना पाण्डेको जम्काभेटः

तपाईँलाई कसरी यो बिजनेस गर्ने सोच आयो ?

११ मा पढ्दै थिए, खाली समय बसिरहको बेला नयाँ केही काम गरौं भन्न्ो सोच आयो । त्यसपछि के गरौं त भन्दा फूलहरु मलाई एकदमै मन पर्ने भएकाले त्यसकै बिजनेस गर्ने मन लाग्यो । सुरुसुरुमा पसलबाट रिवन किनेर बुके बनाए अनि त्यही बुके साथीलाई जन्म दिनमा उपहार दिए । सबैले मेरो कामको प्रशंसा गरे । मेरो यो काम देखेर अरु साथीभाईहरुले पनि बनाइदिन आग्रह गरे । अरुका लागि पनि बनाउँदै सामाजिक सञ्जालमा पोष्ट गर्दै जाँदा धेरैले अर्डर पनि गर्न थाले र पैसा पनि आउन थाल्यो । यसरी क्रमशः यो व्यवसायमा होमिन पुगेको हुँ ।

त्यसयता आमा बुवा दिदीहरु र साथीहरुले तिमीले राम्रो गरेको छौँ, खाली समयमा बनाउने गर, राम्रो हो भनेपछि निरन्तरता दिँदै आइरहेको छु । अहिले फजी ब्लुम नामबाटै व्यवसाय सुरु गरेर अनलाईन विजनेसका लागी पेज बनाए काम गरेदेखि काम र दाम दुबै आउन सुरु भएको छ ।

अनलाइन बिजनेस मात्रै गर्नुहुन्छ कि आफ्नै पसल पनि छ ?

मैलै अनलाईन नै गरिरहेको थिए । हाम्रो डिपार्टमेन्ट स्टोर पनि छ, ममी बाबाले चलाउनुहुन्छ । ममी बाबाको सल्लाह अनुसार नै मैलै त्यही स्टोरमा सानो स्पेस लिएर बुकेहरु राख्ने गरेको छु । त्यहाँबाट पनि व्यवसाय राम्रो भइरहेको छ ।

यो काममा प्रतिस्पर्धा कस्तो छ ?

धैरै नै छ, अहिले धैरैले यो काम गरिरहेका छन् । यसमा धैरै राम्रो दिने प्रयास गर्नुपर्छ । फरक र राम्रो बनाउने योजना भए प्रतिस्पर्धाले खासै फरक पार्दैन ।

अरु भन्दा तपाईँकोमा के फरक हुन्छ ?

फरक छ, मेरो जस्तै सामान्य बुकेहरु बजारमा महंगा छन् । मेरो सामान सस्तो र भरपर्दो छ ।

आर्टिफिसियल बुके र नेचुरल बुकेमध्ये धेरैको रोजाइमा कुन पर्छ ?

मान्छेहरुको आआफ्नो च्वाईस हुन्छ । जसलाई जे मन पर्छ त्यहि किन्ने हो । नेचुरल बुके क्षणभरलाई मात्र हुन्छ भने आर्टिफिसियल चाहिँ काम लामो समयसम्म काम लागिरहन्छ । फरक यही नै हो, बाँकी ग्राहकको रोजाइमा भर पर्छ ।

एउटा बुके बनाउन कति समय लाग्छ ?

साइज हेरेर हुन्छ । सानो छ भने दुई तीन घण्टामा नै तयार हुन्छ । कुनै कुनै त तीन दिनसम्म लाग्न सक्छ । बनाउँदा कति समय लाग्ने भन्ने कुरा साइजमा भर पर्छ ।

अहिलेसम्म कति कति मूल्यका बुके तयार पार्नुभएको छ ?

सस्तोमा २५० देखि तीन हजार सम्मको तयार गरेकी छु । सामान हेरेर हुन्छ ।

प्रायजसो के कस्ता कार्यक्रमका लागि बुकेको अडर आउँछ ?

बर्थडे, म्यारिज एनिभरसरी यस्तैका लागि नै बढी अडर आउँछ ।

तपाईँलाई विजेनस गर्दा सबै भन्दा खुशी लाग्ने क्षण के हो ?

सबै भन्दा खुसी लाग्ने क्षण भनेको एउटै ग्राहकले बारम्बार आफनो सामान अडर गर्नुहुन्छ, त्यो नै एकदमै खुशी लाग्छ ।

पढाई र कामलाई कसरी व्यवस्थापन गर्दै आउनुभएको छ ?

जहाँ ईच्छा, त्यहाँ उपाय भनेझै दुबैलाई मिलाएकी छु । त्यस्तै समय पनि दुबैलाई छुट्याएकी छु । कुन समयमा के र कसरी काम गनुपर्छ भन्ने मलाई थाहा छ । त्यसले गर्दा खासै असर परेको छैन ।

सफल बिजनेसका लागि विजनेस म्यानमा के के गुण हुनुपर्ने रहेछ ?

सबै भन्दा मुख्य कुरा ग्राहकको विश्वास र माया कमाउनुपर्छ । धैरै नाफा नखाएर सस्तो मुल्यमा बेच्न पनि सक्नुपर्छ । व्यापारीको लागि ग्राहक भगवान हुन् भन्ने सोचेर काम गर्नुपर्छ । त्यसमाथि इमान्दारिता महत्वपूर्ण कुरा हो ।

नेपालमा बिजनेस गर्ने माहौल छैन भन्छन्, तपाईँलाई चाहिँ कस्तो लाग्छ ?

मेरो हकमा त भर्खर काम सुरु गर्दै छु लक्की भएर पनि होला राम्रै काम भइरहेको छ । अहिलेलाई मेरो काम राम्रै छ । आशा गरौँ, भोलिको दिनमा पनि मेरो कामले राम्रो प्रशंसा पाओस् भन्ने चाहान्छु ।

व्यवसाय गर्न चाहने अन्य युवालाई के सन्देश दिन चाहनुहुन्छ ?

आफूले जानेको काम एक पटक प्रयास गर्नुस् । पहिले नै हुँदैन भनेर हरेस नखानुस् । तपाईँको कामले तपाईँलाई नाम र दाम कमाउने अवसर अवश्य दिलाइदिन्छ । काम सानो ठूलो हुँदैन । कति कामहरु कोठाभित्रैबाट पनि सुरु गर्न सकिन्छ । कोठाबाटै थालेका काम नै आज धेरैले देश विदेशमा फैलाएका छन् । यो काम सानो भनेर कहिल्यै हेला गर्ने नगर्नुस् भन्न चाहान्छु ।

तपाईँको भविष्यको अरु योजना के छ ?

नेपालमा नै बसेर व्यवसाय गर्ने योजना बनाएकी छु । यसकै टे«निङ दिने र बिस्तारै व्यवसाय बढाउने चाहना छ । योसँगै आफ्नो पढाईलाई पनि निरन्तरता दिने सोच छ । भविष्यमा राम्रो विजनेस वुमेन बन्ने इच्छा राखेको छु ।

प्रतिक्रिया दिनुहोस्