काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको मत लिने भएका छन् । शनिबार काठमाडौंमा बसेको कांग्रेस बागमती संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाँको विश्वासको मत आगामी भदौ ३ गते भित्र लिने निर्णय गरेको हो । गत साउन ६ गतेबाट अल्पमतमा रहेका मुख्यमन्त्री बानियाँले आगामी भदौ ४ गते भित्र संसदबाट विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता रहेको छ ।

सत्ता साझेदार दल एमालेले सरकारको समर्थन फिर्ता लिएसंगै अल्पमतमा रहेका उनलाई सरकार टिकाउन अन्य साना दलहरूको समर्थन आवश्यक छ । सत्ता साझेदार दल एमालेले कांग्रेससंगको गठबन्धन तोड्दै नेकपासँग मिलेर नयाँ सरकार बनाउन साझेदारी गरेको छ । उक्त अवस्थाबिच कांग्रेस साना दलको समर्थनमा सरकार टिकाउने रणनीतिमा छ भने एमाले र नेकपाको सरकार गठनको अवस्था पनि अन्योल बनेको छ ।
यस परिस्थितिबिच मुख्यमन्त्री बानियाँले ३ गतेभित्र विश्वासको मत लिने संसदीय दलले निर्णय गरेको हो । बैठकले विश्वासको मत लिनु एक दिन अगाडि नै हेटौंडामा उपस्थित हुन सांसदहरुलाई ह्विप जारी गरेको छ ।
बैठकले मुख्यमन्त्री बानियाँको विश्वासको मतबारे पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत शीर्ष तहका नेताहरूसँग छलफल गर्ने निर्णय गरेको छ । बैठकले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत पुर्याउन शीर्ष नेतृत्वसहित अन्य दलका नेतृत्वसँग समन्वय तथा छलफल गर्ने निर्णय समेत गरेको छ ।














