
काठमाडौं । कम्युनिष्ट आन्दोलनका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष मो.रिजवान अन्सारीबीच समसामयिक राजनीतिक परिस्थिति, मुलुकमा देखिएको राजनीतिक संकट र त्यसको निकासका विषयमा छलफल भएको छ।
भेटवार्तामा राजनीतिक तथा सामाजिक उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि आवश्यक संघर्षलाई प्रभावकारी बनाउने विषयमा विचार–विमर्श भएको जनाइएको छ ।
दुवै नेताले मुलुकलाई सुशासन, समृद्धि, दिगो शान्ति, समानता, स्वतन्त्रता र सामाजिक न्यायको दिशामा अघि बढाउन अग्रगामी शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राखेका छन्। राष्ट्रिय स्वाधीनता, जनअधिकारको संरक्षण तथा लोकतान्त्रिक मूल्य–मान्यताको सुदृढीकरणका विषयमा समेत छलफल भएको बताइएको छ ।
भेटका क्रममा वरिष्ठ नेता खनालले ‘अग्रगामी मोर्चा’को घोषणाप्रति खुसी व्यक्त गर्दै बधाई दिएका थिए। उनले वर्तमान परिस्थितिमा सबै अग्रगामी तथा प्रगतिशील शक्तिहरूलाई समेटेर सहकार्य र मोर्चाबन्दी अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
नेपाल संघीय समाजवादी पार्टीका अध्यक्षले पनि वर्तमान राजनीतिक संकटबाट मुलुकलाई निकास दिन वाम, लोकतान्त्रिक, प्रगतिशील तथा उत्पीडित समुदायको अधिकारका पक्षमा रहेका शक्तिहरूबीच व्यापक सहकार्य आवश्यक रहेको बताएका थिए ।
अग्रगामी शक्तिलाई एक ठाउँमा ल्याउने पहल
भेटवार्तामा देशभित्र रहेका वाम, लोकतान्त्रिक र प्रगतिशील शक्तिका साथै उत्पीडित समुदायको अधिकारका लागि संघर्षरत राजनीतिक शक्तिहरूलाई एउटै मोर्चामा ल्याउने विषयमा समेत छलफल भएको छ ।
नेपाली जनताका आकांक्षा र अपेक्षालाई सम्बोधन गर्दै संविधान तथा लोकतान्त्रिक गणतन्त्रका उपलब्धिको रक्षा गर्ने र बाँकी अधिकारका लागि संघर्षलाई थप सशक्त बनाउने विषयमा सहकार्य अघि बढाउने समझदारी बनेको जनाइएको छ।
त्यस्तै, राज्यलाई जनउत्तरदायी, पारदर्शी र सुशासनमुखी बनाउने तथा राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय, समानता र समृद्धिका मुद्दालाई केन्द्रमा राखेर राजनीतिक सहकार्य विस्तार गर्ने विषयमा समेत नेताहरूबीच छलफल भएको बताइएको छ।














