
काठमाडौं । बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ‘न्यु जेनेरेसन एट्टो सिरिज’ सार्वजनिक गरेको छ । न्यु जेनेरेसन अन्तर्गत एट्टो १, नयाँ एट्टो २ र २०२६ एट्टो ३ मा प्रविधि, डिजाइन, आराम तथा सुविधामा उल्लेखनीय सुधार गरिएको कम्पनीले दाबी गरेको हो ।
बीवाईडी एट्टो १ को डाइनामिक र प्रिमियम दुवै भेरियन्टमा अब ३६० डिग्री क्यामेरा उपलब्ध हुनेछ । नयाँ एट्टो १ डाइनामिकको मूल्य ३० लाख ७५ हजार रुपैयाँ र प्रिमियमको मूल्य ३४ लाख ८० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
बीवाईडीले एट्टो २ एसेन्सियलमा ४५.१२ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । यसले एकपटकको फुल चार्जमा डब्लूएलटीपी अनुसार ३१२ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसअघि उपलब्ध एट्टो २ प्रिमियममा ५१.१३ किलोवाट आवरको ब्याट्री रहेको छ भने यसको डब्लूएलटीपी रेन्ज ३४५ किलोमिटर छ । एट्टो २ एसेन्सियलको मूल्य ४५ लाख ९५ हजार रुपैयाँ र एट्टो २ प्रिमियमको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
न्यु जेनेरेसन एट्टो ३ मा बोल्ड न्यु डिजाइनका साथै टेक्नोलोजी, कम्फर्ट र रिफाइनमेन्टलगायत अपग्रेड गरिएको छ । नयाँ एट्टो ३ मा बीवाईडीको ‘डाइनामिक ड्रागन फेस डिजाइन’ अपनाइएको छ । २०२६ एट्टो ३ को क्याबिनमा पनि उल्लेखनीय सुधार गरिएको छ । भित्री भागमा सफ्ट–टच सरफेस एरिया बढाउनुका साथै यहाँ प्रयोग भएका विभिन्न सामग्रीको गुणस्तर र ट्याक्टाइल कम्फर्टमा सुधार गरिएको छ ।
नयाँ एट्टो ३ मा पहिलेदेखि उपलब्ध लेआउटको स्थानमा कोलम–सिफ्टर गियर सेलेक्टर राखिएको छ । यसले गियर चेन्जलाई सहज बनाउनुका साथै ड्राइभिङ सुविधा र सुरक्षामा समेत सहयोग गर्ने कम्पनीको भनाइ छ । २०२६ बीवाईडी एट्टो ३ एडभान्स्डको मूल्य ६२ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
बीवाईडीले नाइमा एक्स्पोमा सवारीसाधन खरिद गर्ने ग्राहकका लागि विभिन्न विशेष सुविधा पनि ल्याएको छ । यसअन्तर्गत १ वर्षको निःशुल्क इन्फोटेनमेन्ट सहित बीवाईडी एप कनेक्टिभिटी, विशेष नगद छुट, १० वर्षको एक्सटेन्डेड वारेन्टी, १ वर्षको निःशुल्क बीमा (अटो प्लस), १ वर्षको निःशुल्क सडक दस्तुर तथा निःशुल्क एसेसरिज उपलब्ध गराइनेछ ।















