काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले व्यावसायिक तथा पेसागत संस्थाभित्र राजनीतिक गतिविधि गर्न नहुने बताएका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ साधारण सभालाई शुक्रवार उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले नाट्टा व्यावसायिक संस्था भएकाले यसलाई राजनीतिक विवाद र स्वार्थबाट टाढा राख्नुपर्ने बताएका हुन् ।

सभामुख अर्यालले भने, ‘यो व्यावसायिक संस्था हो, यसमा राजनीति नगरौँ । पर्यटन क्षेत्रको विकास, व्यवसायको प्रवर्द्धन र व्यावसायिक हितका विषयमा केन्द्रित भएर अघि बढौँ ।’
सभामुख अर्यालले पर्यटकका लागि सबैभन्दा महत्त्वपूर्ण विषय सुरक्षा रहेको बताउँदै हवाईजहाज, ट्याक्सी तथा होटललगायत पर्यटन सेवाका हरेक क्षेत्रमा पर्यटकले सुरक्षित महसुस गर्ने वातावरण बनाउनुपर्ने बताए ।













