Logo
Logo

देउवाको नेतृत्वमा पार्टीलाई फेरि एकीकृत गर्नुपर्छ: रमेश लेखक


0
Shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस एकताबद्ध हुने विश्वास व्यक्त गरेका छन्।

शुक्रबार संस्थापनइतर पक्षद्वारा काठमाडौंमा आयोजित राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता लेखकले कांग्रेस एकताबद्ध भएर देशका समस्या सम्बोधन गर्नुपर्ने बताए।

‘कांग्रेस एकताबद्ध भएर देशका समस्या सम्बोधन गर्नुपर्ने अवस्था छ, कांग्रेस मानसिक रूपले विभाजित र संगठनात्मक रूपमा खण्डित हुन सक्ने डिलमा छ,’ उनले भने, ‘देउवाको स्वदेश आगमनले कांग्रेस एकता गर्ने स्थिति बन्न सकोस्। त्यसकारण शेरबहादुर देउवा दाइको नेतृत्वमा पार्टीलाई फेरि एकीकृत गर्नपर्छ भन्ने म आग्रह गर्न चाहन्छु।’

विशेष अधिवेशनले विभाजनको अवस्थामा पार्टीलाई देउवाको अगुवाइमा पुगेको पनि उनले बताएका थिए। ‘देउवाको अगुवाइमा एकताबद्ध हुनेछ, त्रुटि सच्याऔं। विशेष र नियमित कार्यसमितिलाई मिलाएर अघि बढौं,’ उनले भने।

विशेष महाधिवेशनको कारणले पार्टी विभाजनको अवस्थामा पुगेको उनले बताए। ‘विशेष महाधिवेशनले पार्टीलाई विग्रहमा लान्छ भने नियमित महाधिवेशनमा जान खोजिए पनि त्यस्तो हुन सकेन। विशेष महाधिवेशन रोक्न नसक्नुमा कहीँ धोका, कहीँ कमजोरी भयो,’ लेखकले भने।

देउवाले वैधानिक रुपमा नै सभापतिको निर्वाचनमा प्रतिस्पर्धा गर्ने अवस्था नरहेको बेला जबरजस्ती पार्टीमा विशेष महाधिवेशन गरिएको उनको भनाइ थियो। ‘यदी नेतृत्व परिवर्तनकै प्रश्न थियो, हस्तान्तरणकै प्रश्न थियो भने पनि शेरबहादुर दाइले वैधानिक रुपमा पनि सभापतिको निर्वाचनमा प्रतिस्पर्धा गर्ने अवस्था थिएन। उहाँले राजनीतिक रुपमा पनि प्रतिस्पर्धी हुन्नँ भनेर घोषणा गरिसक्नुभएको थियो,’ लेखकले भने।

१५औं महाधिवेशनमा अघि बढेपछि प्राकृतिक र नियमित रुपले नयाँ नेतृत्व आउने अवस्थामा बलजफ्ती गरिँदा समस्या पैदा भएको लेखकले बताए।

‘आवधिक रुपले अवधि पुगेर प्राकृतिक रुपले सन्तान जन्मिने अवस्था हुँदै गरेको आमालाई बलजफ्ती शल्यक्रिया गरेर चाँडै सन्तान प्राप्त गर्ने नाममा जुन ढंगले विशेष महाधिवेशन भयो, त्यसले दुवैतिर समस्या पैदा गर्‍यो,’ लेखकले भने, ‘स्वाभाविक जन्मलाई हतार गरेर अस्वाभाविक जन्मको रुपमा लिएर गयौं भने सन्तान पनि सशक्त हुन सक्दैन। आमाको शरीरलाई पनि प्रतिकूल असर पार्छ। अहिले भएको त्यही हो।’

प्रतिक्रिया दिनुहोस्