Logo
Logo

झण्डै एक महिनादेखि तातोपानी नाका बन्द हुँदा आयातनिर्यात ठप्प


0
Shares

काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाका झण्डै एक महिनादेखि बन्द छ । पहिरोले सडक अवरुद्ध भएपछि तातोपानी नाकामार्फत हुने आयातनिर्यात पनि ठप्प छ ।

बाह्रबिसे–कोदारी सडकखण्डका विभिन्न ठाउँमा सडक अवरुद्ध छ । बाह्रबिसे–कोदारी खण्डको कुल लम्बाइ २६ किलोमिटर छ । भोटेकोसी गाउँपालिका–२ कोदारी ९इको० क्षेत्रको सडकखण्डमा गएको असार ३१ गते आएको पहिरोले सडक भासिएपछि नेपाल–चीन दुई देशबीचको सडक सञ्जाल टुटेको छ ।

दुई देशलाई जोड्ने उत्तरी सिमानाको यो मार्ग अन्तरराष्ट्रिय व्यापारिक मार्ग हो । अरनिको राजमार्ग डाक्लाङमा साउन ३ गतेदेखि र लिपिङ बजार नजिकै साउन १९ गतेदेखि वर्षाका कारण सडक अवरुद्ध छ । तातोपानी भन्सारमार्फत हुने आयातनिर्यात पूर्ण रूपमा ठप्प हुँदा नेपाल मात्रै होइन, चीनतर्फका गोदाम र सडकमा रोकिएका मालवस्तु पनि नेपाल भित्रिन सकेका छैनन् ।

भन्सार कार्यालयका भन्सार अधिकृत दिपेन्द्रप्रकाश गिरीकाअनुसार सडक अवरुद्ध हुँदा मुख्य चाडपर्व दशैँरतिहारलक्षित सामान, स्याउ, लसुनजस्ता फलफूल र विभिन्न उद्योग निर्माणका सामान बोकेका कन्टेनर चीनको सिगर्चे, ल्हासा र न्यालमलगायतका शहरमा रोकिएको छ ।

झण्डै ५०० कन्टेनर चिनियाँ क्षेत्रमा र नेपालतर्फ कोदारीमाथि ४६ कन्टेनरमा झण्डै २० अर्बको सामान रोकिएका छन् । तातोपानी नाकाबाट व्यापार गर्ने व्यवसायी ठूलो समस्यामा परेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले बताए ।

व्यवसायीसँगै ६४० को सङ्ख्यामा मजदुर र ट्रान्सपोर्ट तथा भन्सारसम्बन्धी काम गर्ने ३०० कामदारको काम समेत ठप्प छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ, नेपाल हिमालय सीमापार वाणिज्य सङ्घलगायतका व्यापारिक सङ्घसंस्थाले छिट्टै उत्तरी नाका खुलाउन अनुरोध गरेका छन् । हिमालयन सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले सरकारले नाकालाई सहज बनाउन ध्यान नदिएको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्