Logo
Logo

आवेगमा आएर नेमप्लेट राख्नु विधिसम्मत होइनः विश्वप्रकाश शर्मा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति र केन्द्रीय समितिको वैधानिकताका विषयमा कुनै अलमलमा पर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

शनिबार ललितपुरमा फुटसल प्रतियोगितामा सहभागी हुन पुगेका उनले विधिपूर्वक सम्पन्न भएको पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले समेत सही भनेको अवस्थामा यसबारे कुनै अलमलमा पर्नु नपर्ने बताएका हुन् ।

उनले सर्वोच्च अदालतले गरेको फैसला सबैले स्वीकार्नुपर्नेमा जोड दिए । अदालतले पार्टी केन्द्रीय समिति बदर नगरेको तथा सभापति गगन थापा नै रहेको स्पष्ट पारेको स्मरण गर्न उनले संस्थापनइतर समूहलाई सुझाव दिए ।

“आवेगमा आएर यता नेमप्लेट राख्ने, उता राख्ने, उहाँ पनि सभापति हो, उहाँ पनि कार्यसमिति नै हो, उहाँ नै पदाधिकारी हो भन्ने कुरा भनेको खेलको नियम, विधिभन्दा त्यो बाहिरको कुरा हुन्छ,” उनले भने, “हामी आग्रह गर्छौं– विधिभित्र जसरी खेल चल्छ, त्यसरी नै विधिभित्र राजनीति चल्नुपर्छ ।”

पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै उपसभापति शर्माले कांग्रेसमा विधिको सर्वोच्चता रहने प्रस्ट पारे । खेलमा दर्शकले नभई रेफ्रीले मात्र पहेँलो वा रातो कार्ड देखाउन पाउने उनले उल्लेख गरे । राजनीतिमा पनि आधिकारिक निर्णय लिने वा ‘कार्ड’ देखाउने अधिकार निर्वाचन आयोग र सर्वोच्च अदालतलाई मात्र हुने उनले तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्