Logo
Logo

सञ्चारमन्त्री मन्त्री तिमिल्सिनाले गरे नुवाकोटमा पहिरो प्रभावित बस्ती निरीक्षण


0
Shares

काठमाडौं । सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नुवाकोटका पहिरो प्रभावित तथा जोखिमयुक्त बस्तीको स्थलगत निरीक्षण गर्दै जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल गर्ने बताएका छन् ।

The current image has no alternative text. The file name is: timalsena.jpg

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद्सहितको टोली लिएर उनले सूर्यगढी गाउँपालिका–२ का राम्चे भिर, रातामाटे र पहरेथोकलगायत क्षेत्रको निरीक्षण गरेका हुन् । पहिरोका कारण पहरेथोक, फट्पुर, सेमराङलगायत बस्ती जोखिममा रहेको जनाइएको छ ।

मन्त्री तिमिल्सिनाले जोखिमयुक्त बस्तीको पहिचान गरी आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारी निकायबीच समन्वय आवश्यक रहेको बताए । उनले तत्काल अस्थायी आवास, राहत र सुरक्षित आवतजावतको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिए ।

पहिरोका कारण सडक तथा विद्युत् संरचनामा पुगेको क्षति पनि उनले निरीक्षण गरे । अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन, विद्युत्का क्षतिग्रस्त संरचना मर्मत गर्न तथा जोखिमयुक्त क्षेत्रमा वैकल्पिक व्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार जोखिममा रहेका परिवारका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था गरिएको छ । थप भूगर्भीय अध्ययनपछि दीर्घकालीन रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ ।

मन्त्री तिमिल्सिनाले दुप्चेश्वर गाउँपालिका–३ सरमथलीको पहिरो क्षेत्रको समेत निरीक्षण गरेका छन् । उनले तादी गाउँपालिका–३ अल्छेढुङ्गना र शिवपुरी गाउँपालिका–६ अखौलीका पहिरो प्रभावित क्षेत्रको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको छ । स्थानीयले सडक, विद्युत्, दूरसञ्चार, पहिरो नियन्त्रण तथा सुरक्षित बस्ती व्यवस्थापनमा ध्यान दिन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्