Logo
Logo

 ओलीले भने-अर्को महाधिवेशनसम्म अध्यक्ष मै हो 


0
Shares

काठमडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र चुलिँदो आन्तरिक विवाद र असन्तुष्टिबीच आफूले कुनै पनि हालतमा नेतृत्व नछाड्ने बताए छन् । पार्टी सङ्कटमा रहेका बेला मैदान छाडेर नभाग्ने दाबी गर्दै उनले अध्यक्षको विकल्प खोज्ने र हस्ताक्षर अभियान चलाउने नेताहरूलाई चेतावनी दिएका हुन् ।

The current image has no alternative text. The file name is: kp-oli.jpg

इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी कार्यालयको क्यान्टिनमा बसेर नेतृत्व फेर्ने षड्यन्त्र भइरहेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । उनले भने, ‘अहिले पार्टीमा अलिकति अनुशासनहीनता देखा परेको छ । पार्टी कार्यालयको क्यान्टिनमा बसेर केहीले हल्ला चलाएका छन्-अध्यक्षलाई हटाउने रे! कसले हटाउने ? के मजाक हो यो ? यस्तो अराजकता हुन्छ ? कोही हस्ताक्षर गर्दै हिँडेका छन् ।’

उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेललगायतका शीर्ष नेताहरू नै ओलीको विकल्प खोज्नुपर्ने पक्षमा उभिएका बेला ओलीले उनीहरूलाई आवारोको संज्ञा दिएका हुन् । कार्यकर्ताको अत्यधिक मतबाट अर्को महाधिवेशनसम्मका लागि आफू नेतृत्वमा चुनिएको दाबी गर्दै उनले बाहिरी विरोधीको प्रहार झेल्नुपर्ने बेला पार्टीभित्रैबाट अध्यक्ष हटाउने खेल हुनु दुर्भाग्यपूर्ण भएको बताए । 

अनुशासन उल्लङ्घन गर्नेहरूलाई पार्टी छाड्न खुला चुनौती दिँदै ओलीले भने, ‘पार्टीको विरोध गर्दै सामाजिक सञ्जालमा जे पायो त्यही लेखेर हिँड्न पाइँदैन । पार्टीमा बस्ने भए अनुशासनमा बस्नुपर्छ। होइन भने अर्को पार्टीमा गए हुन्छ वा चुप लागेर घर बसे हुन्छ। तर पार्टीमा काम गर्ने हो भने विधि, नीति र नियम पालना गर्नैपर्छ ।’

अध्यक्ष ओलीले आगामी केन्द्रीय कमिटीको बैठकपछि पार्टीलाई अनुशासनका साथ अघि बढाइने र विधानविपरीत गतिविधिमा संलग्न हुनेहरूमाथि संगठनात्मक कारबाही गरिने चेतावनी समेत दिए ।

प्रतिक्रिया दिनुहोस्