काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख रुबीकुमारी ठाकुरले दाइजोका कारण कसैलाई अन्याय भए आफूलाई सम्पर्क गर्न आग्रह गरेकी छन् ।

धनुषाको ढल्केबरमा नाई सहयोग संस्था नेपालको दोस्रो अधिवेशन तथा चौथो साधारणसभाको शनिबार उद्घाटन गर्दै उपसभामुख ठाकुरले दाइजो प्रथाविरुद्ध आफूले निरन्तर आवाज उठाउँदै आएकाले दाइजोका कारण कसैलाई अन्याय भए आफूलाई सम्पर्क गर्न आग्रह गरेकी हुन् ।
दाइजो लिएर वा दिएर विवाह गर्ने तथा दाइजोका लागि दबाब दिने कार्य कानुनी रूपमा दण्डनीय हुने भएकाले त्यस्तो कार्य नगर्न आग्रह गर्दै उपसभामुख ठाकुरले दाइजो प्रथा अन्त्यका लागि सामूहिक पहल आवश्यक रहेको बताइन् ।
‘छोरीलाई दाइजो नभई शिक्षा दिनुहोस्, छोराको विवाह गर्दा दाइजो नलिनुहोस्,’ उपसभामुख ठाकुरले भनिन्,’दाइजो समाजका लागि अभिसाप हो, सबै मिलेर यसको अन्त्य गरौँ ।’ छोरी र बुहारीलाई पढ्न प्रोत्साहित गर्नु आवश्यक भएको उनको भनाइ थियो ।












