Logo
Logo

आफ्ना तीन पायलट कतारको नियन्त्रणमा रहेको इरानको दाबी


0
Shares

काठमाडौं । इरानको सशस्त्र बलको प्रधान कार्यालयअन्तर्गत बेपत्ता व्यक्तिको खोजीसम्बन्धी समितिका प्रमुखले तीन जना इरानी पाइलट कतारको नियन्त्रणमा रहेको दाबी गरेका छन् । उनले ती पाइलटको अवस्थाबारे स्पष्ट जानकारी गराउन अन्तर्राष्ट्रिय रेडक्रस समितिसँग सहयोगको आग्रह गरेका छन् ।

The current image has no alternative text. The file name is: iran.jpg

इरानी सञ्चारमाध्यमका अनुसार समितिका प्रमुख ब्रिगेडियर जनरल मोहम्मद बाकेरजादेहले अन्तर्राष्ट्रिय रेडक्रस समितिकी अध्यक्ष मेरियाना स्पोल्यारिकलाई पठाएको पत्रमा मार्च २, २०२६ मा दुई वटा सुखोई–२४ लडाकु विमान कतारमा रहेको भनिएको ‘शत्रु सैन्य अड्डा’लाई लक्षित गरी पठाइएको उल्लेख गरेका छन् ।

उनका अनुसार सैन्य अभियान पूरा गरेर फर्कने क्रममा ती विमानले शत्रुपक्षको कारबाही सामना गरेका थिए। त्यस क्रममा चार जना इरानी पाइलट प्रभावित भएका थिए । ती चारमध्ये माजिद काजेमीको शव पछि इरान ल्याइएको र अगस्ट २९ मा सिराजमा अन्त्येष्टि गरिएको इरानी पक्षले जनाएको छ । बाँकी तीन पाइलट जवाद सालेही, अब्दुलमजीद दस्तियान र इमरान बहरूशियानलाई कतारको सेनाले जीवितै नियन्त्रणमा लिएको बाकेरजादेहले दाबी गरेका छन् ।

कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले इरानको उक्त दाबी अस्वीकार गरेका छन् । उनले क्षेत्रीय तनाव कम गर्न कूटनीतिक प्रयास जारी रहेका बेला ‘यस्ता भ्रामक भनाइ’ सार्वजनिक भएकोमा आफूहरू निकै आश्चर्यमा परेको बताए ।

अल अन्सारीले जारी गरेको वक्तव्यमा मार्चमा कतारको हवाई क्षेत्र उल्लङ्घन भएपछि कतारले इरानी पाइलटसँग सम्पर्क गरेको र उनीहरूको उडान मार्ग पुष्टि गरेको बताए । उनका अनुसार पाइलटबाट कुनै जवाफ नआएपछि कतारले ‘सङ्घर्षका नियम तथा अन्तर्राष्ट्रिय कानुनको आवश्यकताअनुसार’ आफ्नो सुरक्षाका लागि कारबाही गरेको थियो ।

कतारका खोज तथा उद्धार टोलीले ती पाइलटको खोजीका लागि अभियान सञ्चालन गरेको पनि उनले जानकारी दिए । उनका अनुसार खोजीका क्रममा एक जना पाइलटको शव फेला परेको थियो । उक्त शव इरानलाई हस्तान्तरण गर्न कतार सरकारले तेहरानसँग सम्पर्कसमेत गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्