Logo
Logo

म हिन्दु धर्म मान्छु, देशमा के हुने भन्ने जनताको कुरा हो :  देउवा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको धार्मिक पहिचानका विषयमा बोल्दै आफू व्यक्तिगत रूपमा सनातन हिन्दु धर्मप्रति आस्थावान् रहेको बताएका छन् ।

काठमाडौंको सुकेधारामा आयोजित इतर समूहको ३ दिने राष्ट्रिय भेलाको समापन समारोहमा बोल्दै देउवाले भने, ‘म व्यक्तिगत रूपमा हिन्दु हुँ । मैले हिन्दु परम्पराअनुसार व्रतबन्ध गरेको छु, विवाह गरेको छु । म पशुपति जान्छु र पूजाआजा गर्छु । तर देशमा (धर्मका विषयमा)के हुने वा नहुने भन्ने कुरा जनताको निर्णयमा भर पर्छ । देशमा सबैका लागि धार्मिक स्वतन्त्रता हुनुपर्छ।’ कार्यक्रममा सहभागी एक प्रतिनिधिले ‘हिन्दु राष्ट्र’ बारे धारणा माग्दै बुझाएको पत्रको जवाफ दिँदै देउवाले सो जवाफ दिएका हुन् ।

सम्बोधनका क्रममा देउवाले नेपालको न्यायलयप्रति आफ्नो उच्च सम्मान रहेको बताए । ‘सर्वोच्च अदालतदेखि सबै न्यायालयले हिजोदेखि हामीलाई न्याय दिँदै आएका छन्,’ देउवाले विगत सम्झँदै भने, ‘पञ्चायतले थुन्दा होस् वा राजाले शाही आयोग बनाएर थुन्दा, न्यायालयले नै खारेज गरेर मलाई बचाएको हो। न्यायालयकै कारण आज म यहाँसम्म आइपुगेको छु।’

देउवाले गत पुसमा सम्पन्न विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आफूहरू न्यायालय गएको स्पष्ट पारे । उनले भने, ‘मैले पहिले नै भनेको थिएँ । विशेष महाधिवेशन सबैको सहमतिमा गरौँ, कसैलाई अन्याय नहोस् । तर जबर्जस्ती गरेर धेरै साथीहरूलाई बाहिर राखियो । त्यसैले हामी अदालत गएका हौँ । अदालतको पूर्ण निर्णय आउन बाँकी छ, त्यसैले म धेरै बोल्न चाहन्नँ । म अदालतको कुरा मान्छु ।’

प्रतिक्रिया दिनुहोस्