सुर्खेत । नेकपा (एमाले) तीन मन्त्रालयसहित कर्णाली प्रदेश सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्दै एमालेलाई सरकारमा सहभागी गराएका हुन् ।

मुख्यमन्त्री शाहीले पदभार सम्हालेको २२ दिनपछि मन्त्रिपरिषद् विस्तार गरेका हुन् । सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा लामो समयदेखि सरकार अपूर्ण रहँदै आएको थियो ।
एमालेबाट जुम्लाका टेकराज पछाई आर्थिक मामिला तथा योजनामन्त्री, मुगुका जीतबहादुर मल्ल सामाजिक विकासमन्त्री र हुम्लाका कलबहादुर हमाल जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेका छन् ।
बुधबार नै मुख्यमन्त्री मंगलबहादुर शाही र एमाले कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलबीच मन्त्रालय बाँडफाँटमा सहमति भएको थियो । सहमतिपछि एमालेका तीन सांसदलाई मन्त्री बनाइएको हो ।
नवनियुक्त तीनै मन्त्रीलाई बुधबार प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ गराएका छन् ।
मन्त्रिपरिषद् विस्तारसँगै मुख्यमन्त्री शाही नेतृत्वको कर्णाली सरकारमा एमाले औपचारिक रूपमा सहभागी भएको हो । यसअघि सरकार गठन भए पनि मन्त्रालय बाँडफाँटमा सहमति नजुट्दा मुख्यमन्त्री शाहीले एक्लै सबै मन्त्रालय समाल्दै आएका थिए ।
अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले तीन मन्त्री पठाउन बाँकी छ ।












