Logo
Logo

स्क्यान मेसिन खरिदमा घोटला


0
Shares

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा विगतदेखि उठ्दै आएका अनियमितता र व्यवस्थापनसम्बन्धी प्रश्नहरू अझै रोकिएको छैन । अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसे आफै सेटिङमा बजेट तथा खरिद प्रक्रियामा आफूखुसी निर्णय गर्न थालेपछि यो प्रश्न उठेको हो । त्यहाँका कर्मचारीहरुले नै आर्थिक विषयमा पारदर्शिता नदेखिएको र खरिदमा सेटिङ हुने गरेको आशंका व्यक्त गर्न थालेका छन् ।

भर्खरै प्रशासनिक कर्मचारीले जागिर छोड्दा करिब ४० लाख रुपैयाँ लेनदेन भएको भनिएको विषयसमेत छानबिनको दायरामा ल्याउनुपर्ने भन्दै कर्मचारीहरुले गुनासो गरेका छन् । त्यस्तै, अस्पतालको खरिद प्रक्रियामा पुनः मिलेमतो भइरहेको र अस्पतालको वास्तविक आवश्यकता तथा प्राथमिकताभन्दा बाहिर गएर महँगा मेसिन खरिद गर्न प्रक्रिया अघि बढाइएको कर्मचारीहरुले डा. चालिसेलाई आरोप लगाएका छन् ।

विशेषगरी पीइटी स्क्यान मेसिन खरिद प्रक्रिया सेटिङमा अघि बढाइएको भन्ने गम्भीर आरोप सार्वजनिक रूपमा उठिरहेको छ । यस विषयमा वित्तीय प्रमुख जगन्नाथ भुर्तेलको भूमिका पनि प्रश्नको घेरामा परेको बताइन्छ । उनी अस्पताल समितिका करार कर्मचारी भएको र नेपाल सरकारको स्थायी कर्मचारी होइनन । साथै, उनकी श्रीमतीलाई समेत अस्पतालको लेखा शाखामा करारमा कामलगाईरहेको भन्ने विषयमा कर्मचारीहरूले प्रश्न उठाएका छन् । यदि यस्तो भएको हो भने एउटै परिवारका सदस्यहरू वित्तीय तथा लेखा सम्बन्धी जिम्मेवारीमा रहँदा हितको द्वन्द्व भएको हो कि होइन भन्नेबारे निष्पक्ष छानबिन आवश्यक रहेको भन्दै कर्मचारीहरुले आवाज उठाएका छन् ।

त्यसैगरी, ईएचएस लगायतका क्षेत्रमा व्यापक आर्थिक अनियमितता भइरहेको भन्ने गुनासो कर्मचारीहरूले गरेका छन् । केही कर्मचारीहरू कथित अनियमिततासम्बन्धी प्रमाण बोकेर हिँडिरहेको र चिकित्सकहरूले समेत सम्बन्धित मन्त्रीसमक्ष भेट गरी ज्ञापनपत्र बुझाइसकेको बताइएको छ । अब ती गुनासा र प्रमाणमाथि राज्यका सम्बन्धित निकायबाट निष्पक्ष सुनुवाइ हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको छ ।

नेपाल सरकारबाट अस्पतालमा खटाइएका उपसचिव तथा लेखा समूहका कर्मचारीहरूको भूमिका प्रभावकारी हुन नसकेको भन्ने गुनासोसमेत सुनिन थालेको छ । यदि सरकारी प्रतिनिधि तथा जिम्मेवार कर्मचारीहरू हुँदाहुँदै पनि निर्णय प्रक्रियामा उनीहरूको भूमिका कमजोर बनाइएको हो भने त्यो पनि गम्भीर विषय हो ।

भक्तपुर क्यान्सर अस्पताल जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील संस्था हो । त्यसैले पीइटी स्क्यान लगायतका ठूला उपकरण खरिद, बजेट परिचालन, कर्मचारी नियुक्ति तथा आर्थिक लेनदेनसँग सम्बन्धित सबै विषयमा निष्पक्ष छानबिनको माग भइरहेको छ । त्यसमाथि चालिसेको नियुक्तिलाई लिएर अख्तियारमा समेत उजुरी परेको थियो । तर, उनलाई तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जोगाएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्