
काठमाडौं । विपद् प्राधिकरणको बैठकले भोटेकोशी बाढीपछि जोखिममा परेकाहरूको उद्धार कार्यलाई तीव्रता दिने निर्णय गरेको छ ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार र राहतका लागि केन्द्रित हुने निर्णय भएको बताए ।
बैठकले उपलब्ध सबै साधन–स्रोत परिचालन गरी प्रभावित क्षेत्रका नागरिकको उद्धार तथा राहत कार्यलाई तीव्रता दिने निर्णय गरेको समेत बताए । हालसम्म आठ वटा हेलिकप्टर परिचालन जानकारी प्राप्त भएको बताए ।
घाइते तथा बिरामीको उपचारका लागि त्रिशूलीस्थित सिभिल अस्पताललाई आवश्यक उपकरणसहित व्यवस्थित बनाउने विषयमा समेत बैठकमा छलफल भएको बताए । तत्काल उद्धारका लागि धुन्चे, त्रिशूलीलगायत क्षेत्रमा रहेका हेलिप्याड प्रयोग गर्ने निर्णय भएको पनि उनले बताए ।
उनले सरकारले कुनै हिचकिचाहट नगरी उपलब्ध सबै स्रोत–साधन परिचालन गर्न सुझाव दिएको बताए । बाढीबाट भएको धनजनको क्षतिको यकिन विवरण सार्वजनिक हुन बाँकी रहे पनि तत्काल उद्धार गर्नुपर्ने अवस्था रहेको बताए ।














