काठमाडौँ । नेपाली कांग्रेसले रसुवामा आएको बाढीको पूर्व सूचना प्रणाली र समन्वय संयन्त्र प्रभावकारी नहुँदा अनपेक्षित थप क्षति बेहोर्नु परेको जनाएको छ।

बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले विपदमा परी दिवंगत हुनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। त्यस्तै, वेपत्ताहरूको तीव्र गतिमा खोजी उद्धार, स्थानान्तरण एवं राहत उपलब्ध गराउन र घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको हो।
रसुवामा आकस्मिक रुपमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रको जनजीवन अस्तव्यस्त र अत्यन्त गम्भीर बनेको भन्दै कयौंको मृत्यु, कयौं वेपत्ता र अर्बौंको भौतिक क्षतिको खबरले सिङगो देशलाई स्तब्ध र मर्माहत बनाएको कांग्रेसले जनाएको छ।
नागरिकको जीवन विपदमा परेको घडीमा सरकार, प्रतिपक्षी राजनीतिक दलहरू, संघ–संस्था, निजी क्षेत्र, नागरिक समुदाय सबैको साझा एकमात्र कर्तव्य उद्धार र राहत रहेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
अन्य कुरा थाति राखेर सम्पूर्ण ध्यान विपद् व्यवस्थापनमा केन्द्रित गर्न सरकारलाई आग्रह गर्दै गर्दै कांग्रेसले विपदको घडीमा सरकारको हरेक प्रयासमा पार्टीको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरेको छ। विपदको अवस्थामा कांग्रेसका कुनै पनि सदस्य भ्रामक सूचना, मिथ्या र अफवाहको पछि नलाग्न, आरोप प्रत्यारोप नगर्न र उद्धार राहत तथा व्यवस्थापन कार्यमा मात्र लाग्न बैठकले आग्रह गरेको छ।
‘विपदबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लाको पार्टी पंक्तिलाई तटीय क्षेत्रमा वसोवास गर्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण, सक्रियतापूर्वक उद्धार र राहत कार्यमा तुरुन्त जुट्न, स्थानीय विपद व्यवस्थापन संयन्त्रसँग समेत समन्वय र सहकार्य गरी व्यवस्थित ढंगले प्रभावकारी रुपमा कार्य गर्न आग्रह गर्दछ। साथै प्रभावित क्षेत्रभन्दा बाहिरका पार्टीका साथीहरूलाई जहाँ हुनुनुन्छ आ–आफ्नो स्थानबाट साथ सहयोग गर्न अपिल गर्दछ,’ महामन्त्री प्रदीप पौडेलले भने।
कांग्रेसले केन्द्रीय कार्यालयका पूर्वनिर्धारित कार्यक्रम स्थगित गरे पार्टी पदाधिकारीहरू विपद् व्यवस्थापनमा केन्द्रित गराएको छ। कांग्रेसले केन्द्रीय सदस्य एवं रसुवाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य मोहन आचार्यको संयोजकत्वमा विपद व्यवस्थापन समन्वय एवं सहजीकरण समिति गठन गरेको छ।
उक्त समितिमा बाढी प्रभावित जिल्ला रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपुरका केन्द्रीय सदस्य, प्रतिनिधि सभा सदस्य, बागमती प्रदेश सदस्य, सभापतिहरू, प्रदेश सभा सदस्यहरू र कांग्रेसबाट निर्वाचित स्थानीय सरकारका प्रमुख–उपप्रमुखहरू, भ्रातृ संघका सभापति र सम्बन्धित शुभेच्छुक संस्थाका सभापति सदस्य रहने छन्। पार्टीको विपद् व्यवस्थापन उपसमितिका संयोजक मानबहादुर थापा समितिको सदस्य सचिवमा रहेको उक्त समिति अन्तर्गत केन्द्रीय कार्यालयमा कांग्रेसले सूचना तथा समन्वय डेस्क खडा गरेको महामन्त्री पौडेलले बताए।
कांग्रेसको तर्फबाट हुने सवैखाले सहयोग उक्त समितिको समन्वयमा हुने उनको भनाइ छ। कांग्रेस पार्टीको तर्फबाट एकमुष्ट रुपमा राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ।














