Logo
Logo

भोटेकोशी बाढीको भित्री कारणः कहाँ-कहाँ मच्चायो वितण्डा ? के- के भयो ? (भिडियोसहित)


0
Shares

काठमडौं । आज बुधबार एकाबिहानै यत्रो बाढी आउँछ भन्ने कुरा रसुवावासीले सपनामा पनि सोचेका थिएनन् । स्थानीयवासीका अनुसार भोटेकोशीमा यति ठूलो बाढी आउन सदरमुकाम धुन्चे वा खोलाको सिरानतिर ठूलो पानी पर्नुपथ्र्यो । तर मंगलबार दिउँसोदेखि रातिसम्म त्यहाँ त्यस्तो पानी परेकै थिएन । त्यसैले न प्रशासनले खतरा देख्यो, न त स्थानीयले । कसैले सतर्क हुनुपर्ने कारण नै देखेन । तर, हिमालपारिबाट उर्लेर आएको त्रिशूलीको कालो भेलले हजारौँ परिवारको ओत र पुख्र्यौली थातथलो क्षणभरमै बालुवाको बगर बनाइदिएको छ । बुधबार बिहान पनि अवस्था सामान्य नै थियो । भोटेकोशी आफ्नै गतिमा बगिरहेको थियो । मानिसहरू उठेर आ–आफ्नो कामधन्दामा लागिसकेका थिए । तर, करिब पौने ९ बजेतिर एकाएक नदीको रूप फेरियो ।

पहिला माथितिर कालो मुस्लो देखियो । एक्कासि ज्वालामुखी फुटेजस्तै डाङडाङ र डुङडुङ गर्दै भोटेकोशी उर्लियो । नदी सामान्य बगेको थिएन । पानीसँगै ढुंगा, रुखका ठुटा, माटो र लेदो मिसिएको ठूलो भेल आउन थाल्यो । स्थानीयका अनुसार जमिन नै हल्लिएजस्तो भयो । कसैले भूकम्प आयो कि जस्तो ठाने, कसैले पहाडै फुट्यो कि जस्तो । तर केही सोच्न नपाउँदै बाढी बस्तीमाथि आइपुगिसकेको थियो ।

घर, पसल, सडक, पुल, गाडी जे बाटोमा भेट्यो, बाढीले बगाउँदै लग्यो । मानिसहरू भागाभाग गर्न थाले । तर धेरैले ज्यान जोगाउनसमेत पर्याप्त समय पाएनन् । नागरिकको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीसमेत यही बाढीमा परे । केहीको ज्यान गयो भने केही अझै बेपत्ता छन् ।

बाढीले सडक र झोलुङ्गे पुलहरू समेत नामेट पारेको छ । नदी किनारका खेतबारीमा रोपिएको धानको हरियाली कालो हिलो र ठूला ढुङ्गामुनि पुरिएको छ । वर्षौँको पसिनाले उठाएको घर एकै लहरमा बग्दा स्थानीय वृद्धवृद्धाहरू बगरमा बसेर आँसु खसालिरहेका छन् । गाउँका पक्की संरचना, मोटरेबल पुल र जलविद्युत् आयोजनाका बाँधहरूमा अपूरणीय क्षति भएको छ ।

अब प्रश्न उठ्छ– पानी नपरेको भए यत्रो बाढी आयो कहाँबाट ? यसको जवाफ खोज्दा नेपालतिर होइन, चीनको तिब्बततिर हेर्नुपर्ने हुन्छ । सामान्यतया बाढी आउन जलाधार क्षेत्रमा मुसलधारे वर्षा हुनुपर्छ । तर, यसपटक नेपालतिर मात्र होइन, चीनको तिब्बततर्फ पनि ठूलो वर्षा भएको खबर थिएन । त्यसो भए वर्षा नै नभई भोटेकोशीमा यत्रो महाप्रलय कसरी आयो त ?

तिब्बतको जिलोङ काउन्टीमा विशाल हिमपहिरोपछि डोङलिन छाङ्गो नदी थुनिएर ताल बनेको थियो । त्यो कमजोर प्राकृतिक बाँध फुट्नासाथ हजारौँ क्युसेक लेदोसहितको बाढी त्रिशूली नदीको साँघुरो गल्छी हुँदै नेपाल प्रवेश ग¥यो । रसुवाको टिमुरे र स्याफ्रुबेँसी नाघेर नुवाकोट र धादिङ आइपुग्दा नदी राक्षसझैं उर्लिएको थियो ।

चिनियाँ पक्ष र विशेषज्ञहरूले दिएको प्रारम्भिक विवरणअनुसार यो प्राकृतिक विपत्तिको कारण भारी वर्षा होइन, ‘तापक्रम वृद्धि र हिमपहिरो’ हो । तिब्बतको शिगात्सेस्थित जिलोङ क्षेत्रमा पछिल्ला १० दिनमा वर्षा कम भए पनि तापक्रम अत्यधिक उच्च रहेको थियो । उच्च तापक्रमका कारण हिमनदी र हिमपहिरो खस्ने जोखिम पहिले नै पहिचान गरिएको थियो । त्यही विशाल हिमपहिरोले नदी रोकेर बनेको अस्थायी ताल एकाएक फुट्दा तल्लो तटीय क्षेत्रमा लेदो, ढुंगा र माटोको भीषण भेलबाढी खसेको हो ।

गत वर्ष असारमा पनि यही क्षेत्रमा बाढी आउँदा केही प्रहरीसहित १८ जना बेपत्ता भएका थिए । तर, पोहोर बिहान ३ बजेतिर बाढी आउनुअघि नै तिब्बततर्फ अविरल वर्षा भइरहेको पूर्वसूचना नेपालले पाएको थियो । त्यसैका कारण ठूलो मानवीय क्षति हुन पाएन । यसपालि भने न चीनतर्फ वर्षा थियो, न त पूर्वसूचना प्रणालीले नै काम ग¥यो । पूर्वजानकारीको अभाव नै यो महाविपत्तिमा ठूलो क्षति हुनुको मुख्य कारण बन्यो ।

यहीँबाट पूर्वसूचना प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ । माथिल्लो क्षेत्रमा नदी थुनिएको थियो भने त्यसको निगरानी कसले गरिरहेको थियो ? अस्थायी ताल बनेको थियो भने त्यो कहिले पत्ता लाग्यो ? खतरा देखिएपछि नेपाललाई खबर गर्ने संयन्त्र कहाँ थियो ? जुन कुरा संसद् बैठकमा पनि उठेको छ ।

वास्तवमा रसुवाको जटिल हिमाली भूगोल र भोटेकोशीको बहाव क्षेत्रलाई हेर्ने हो भने यहाँ पूर्वसूचनाको महत्त्व झनै बढी छ । उत्तरमा तिब्बत, बीचमा अग्ला पहाड, साँघुरा उपत्यका र तीव्र गतिमा बग्ने नदीहरू रहेको यो भूभागमा टिमुरे र रसुवागढी हुँदै नेपाल पस्ने भोटेकोशी स्याफ्रुबेँसीतिर पुगेर त्रिशूली नदी प्रणालीमा परिणत हुन्छ । नदी किनारमै बस्ती, सडक, बजार, भन्सार नाका, जलविद्युत् आयोजना र सुरक्षा संरचनाहरू बाक्लिँदै गएकाले माथिबाट अचानक आएको भेलले व्यापक विनाश मच्चायो ।

बाढीका कारण टिमुरे र रसुवागढी क्षेत्रका बजार, भन्सार र सुरक्षा संरचना ध्वस्त भएका छन् भने रसुवा भन्सार परिसरमा रहेका ५ सयभन्दा बढी विद्युतीय गाडीहरू (ईभी) समेत बगेका छन् । बाढीको असर नुवाकोट, धादिङ र चितवनसम्म पुगेको छ । यो समाचार तयार पार्दासम्म ९५ जनाको शव फेला परेको छ । अझै बाढीको कारण मृत्यु हुनेको संख्या बढ्ने निश्चित छ । अझै पनि झन्डै चार सय बेपत्ता रहेका छन् । उनीहरूको खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता र स्थानीयसमेत जुटेका छन् ।

भौतिक क्षतिको हिसाब पनि कम डरलाग्दो छैन । सडक विभागका अनुसार कम्तीमा २२ वटा पुल क्षतिग्रस्त भएका छन् । करिब ४० किलोमिटर सडक पूर्ण वा आंशिक रूपमा बगेको वा भत्किएको छ । रसुवा भन्सारमा रहेका पाँच सयभन्दा बढी विद्युतीय गाडी (ईभी) पनि बगाएको छ ।

बाढीको अर्को ठूलो असर पर्यटनमा परेको छ । लाङटाङ र गोसाइँकुण्डतर्फ गएका सयौँ पर्यटक प्रभावित भएका छन् । तीमध्ये केही विदेशी र केही नेपाली रहेका छन् । तर यहाँ एउटा कुरा बुझ्न जरुरी छ– सम्पर्कविहीन भनेको सबै बाढीमा परेका छन् भन्ने होइन । कतिपय सञ्चार सम्पर्कबाट बाहिरिएका हुन सक्छन् । उद्धार टोली र स्थानीय निकायले सम्पर्क स्थापित गरेपछि वास्तविक अवस्था थाहा हुनेछ ।

जलविद्युत् आयोजनामा पनि बाढीले ठूलो धक्का दिएको छ । रसुवागढी जलविद्युत् आयोजना, चिलिमे, त्रिशूली–३ ’ए’ लगायतका आयोजना प्रभावित भएका छन् । करोडौँ होइन, अर्बौँ लगानी भएका यस्ता संरचना जोखिममा पर्नुले बाढीको आर्थिक असर कति ठूलो हुन सक्छ भन्ने अनुमान गर्न सकिन्छ ।

अर्कोतर्फ रसुवागढी नाका प्रभावित हुँदा अर्को समस्या थपिएको छ । नेपाल–चीन व्यापारको महत्त्वपूर्ण नाका भएकाले बाटो र भन्सार लामो समय बन्द भए चीनबाट आउने सामानको आपूर्तिमा असर पर्न सक्छ । नेपालीहरुको महान चार्ड दसैँ नजिकिँदै गर्दा यसको असर बजारसम्म पुग्ने चिन्ता पनि बढेको छ ।

सरकारले प्रभावित क्षेत्रलाई तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ । घाइतेको निःशुल्क उपचार, जोखिममा परेकाको उद्धार, विस्थापितलाई सुरक्षित ठाउँमा सार्ने, हेलिकोप्टर परिचालन गर्ने र मृतकका परिवारलाई राहत दिने निर्णय भएको छ ।

सडक, विद्युत्, खानेपानी र दूरसञ्चार सेवा सञ्चालन गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । तर अहिलेको सबैभन्दा ठूलो काम राहतको घोषणा होइन, मानिसको ज्यान जोगाउनु हो ।

यो विपत्ति केवल नेपालतर्फ मात्र सीमित रहेन, चिनियाँ भूभाग केरुङ क्षेत्रमा पनि यसले ठूलो क्षति पु¥याएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ताहरूको खोजी र उद्धारलाई पहिलो प्राथमिकतामा राख्न, घाइतेको उपचार गर्न र थप क्षति हुन नदिन वैज्ञानिक ढंगले पूर्वसूचना प्रणाली सुदृढ बनाउन निर्देशन दिएका छन् ।

त्यसैगरी, चिनियाँ प्रधानमन्त्री ली छ्याङले उद्धार कार्यलाई तीव्रता दिनुका साथै चीनको विदेश मन्त्रालयलाई नेपाल सरकारसँग निरन्तर समन्वय र सूचना आदानप्रदान गर्न कडा निर्देशन दिएका छन् । चीनतर्फ पनि अझै ताल पूर्ण रूपमा नखुलिएकाले तल्लो तटीय क्षेत्रमा जोखिम कायमै रहेको बताइएको छ ।

रसुवामा आएको यो बाढी केवल प्राकृतिक विपत्ति होइन, हाम्रो पूर्वतयारी र पूर्वसूचना प्रणालीको पनि कठोर परीक्षा हो । पानी नपरे पनि हिमपहिरो खस्न सक्छ, नदी थुनिन सक्छ र केही मिनेटमै त्यो प्राकृतिक बाँध फुटेर तलको बस्तीमा महाप्रलय ल्याउन सक्छ भन्ने यो घटनाले देखाइदिएको छ । हिमाली क्षेत्रमा जोखिम अब वर्षासँग मात्रै जोडेर हेरेर पुग्दैन । तापक्रम बढ्दै जाँदा हिमपहिरो, हिमताल फुट्ने र नदी थुनिने जोखिम पनि बढिरहेको छ । त्यसैले सीमापारि माथिल्लो क्षेत्रमा के भइरहेको छ भन्ने जानकारी नेपालसम्म तत्काल आइपुग्ने बलियो संयन्त्र अब विकल्प होइन, आवश्यकता हो । रसुवामा ज्यान गुमाउनेको संख्या, बेपत्ता हुनेको पीडा र बगेका घर–पूर्वाधारको क्षति त अहिले देखिएको तस्वीर मात्रै हो ।

यसको वास्तविक मूल्यांकन त प्रभावित परिवारले वर्षौँसम्म भोग्नुपर्ने पीडा र अर्थतन्त्रमा पर्ने असरबाट हुनेछ । अब सरकारसँग राहत र पुनर्निर्माणको मात्रै प्रश्न छैन । प्रश्न छ– अर्कोपटक यस्तै घटना हुँदा नागरिकलाई केही मिनेटअघि नै खबर गर्न सक्ने प्रणाली बन्यो कि बनेन ? किनकि पहाड फुट्न रोक्न नसकिएला, नदीको भेल थुन्न नसकिएला । तर खतरा आउँदैछ भनेर समयमै खबर गर्न सकियो भने धेरैको ज्यान जोगाउन सकिन्छ । रसुवाको बाढीले यही एउटा कठोर पाठ सिकाएको छ—विपत्ति अचानक आउन सक्छ, तर पूर्वसूचना कहिल्यै अचानक हुनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्