काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले बुधबारको भोटेकोशी-त्रिशूली बाढीबारे तयार पारेको प्राविधिक प्रतिवेदनले प्रभावकारी पूर्वसूचनाका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको निष्कर्ष निकालेको छ । प्रतिवेदनअनुसार बिहान ९:०५ बजे रसुवा जिल्लास्थित भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको सूचना प्राप्त भएको थियो ।

थप विश्लेषणले भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढीको प्रभाव क्रमशः तल्लो तटीय क्षेत्रसम्म फैलिएको देखाएको छ । नेपाल प्रहरीका अनुसार बुधबार रातिसम्म १५७ जनाको शव फेला परेको थियो । बाढी सुरु भएदेखि नै महाशाखाले उपलब्ध जलस्तर, बाढीको बहाव र प्राप्त सूचनाका आधारमा सम्बन्धित जिल्ला, नदी तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका नागरिकलाई निरन्तर पूर्वसूचना र सतर्कता सन्देश पठाएको थियो ।
प्रतिवेदनले यही पूर्वसूचनाका कारण धेरै नागरिकले ज्यान जोगाउन सफल भएको उल्लेख गरेको छ । प्राविधिक विवरणअनुसार बिहान ८:३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि ८:४० बजे भोटेकोशी स्याफ्रुबेसी जलमापन केन्द्रबाट तथ्याङ्क प्राप्त हुन बन्द भएको थियो। त्यसबेलाको अन्तिम मापनअनुसार नदीको जलस्तर १.६२ मिटर थियो भने नदीको चेतावनी तह ६ मिटर र खतराको तह ९ मिटर तोकिएको छ ।
























