
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा भीषण बाढी आए पश्चात भएको जनधनको क्षतिको अवस्थामा नेपाल टेलिकमले उपलब्ध गराएको निःशुल्क भ्वाइस कल, डाटा तथा एसएमएस सुविधा तीन दिन थप गरिएको छ ।
नेपाल टेलिकमले सो क्षेत्र र आसपासका सेवाग्राहीलाई दुई दिन भ्वाइस कल निःशुल्क र प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस निःशुल्क गर्ने निर्णय गरेको थियो । अब आगामी भाद्र १२, १३ र १४ गते सम्म सो सुविधा उपलब्ध रहनेछ ।
कम्पनीले भोटेकोशी तथा त्रिशूली नदीको बहाव तीव्र रूपमा बढिरहेको अवस्थामा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायत नदी आसपासका क्षेत्रहरुमा बसोबास गर्ने सबै नागरिकहरुलाई उच्च सतर्कता अपनाउन र तुरुन्त सुरक्षित स्थानमा जान अनुरोध गर्नुका साथै बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउनका लागि एसएमएस मार्फत अनुरोध गरेको थियो ।
विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकलाई आफन्त, उद्धार तथा राहतकर्मी र सम्बन्धित निकायसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले कम्पनीले उक्त सुविधा उपलब्ध गराएको हो ।
बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा क्षति पुगेको अवस्थामा पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मर्मत–सम्भार गर्न कम्पनीको प्राविधिक टोली निरन्तर परिचालित भइरहेको छ ।
विपद्को यस अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन नेपाल टेलिकमले सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक सहयोगलाई उच्च प्राथमिकतामा राखेको छ । यसबाट सम्बन्धित सबै सेवाग्राहीलाई आफन्तजनसँग नियमित सम्पर्कमा रहन सहयोग पुग्ने कम्पनीको विश्वास छ ।















