Logo
Logo

बाढीपीडितलाई ७ करोड सहयोग गर्ने बीवाईडी र साइमेक्स इन्कको घोषणा


0
Shares

काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन उत्पादक कम्पनी बीवाईडी र यसको नेपालस्थित आधिकारिक वितरक तथा स्थानीय साझेदार साइमेक्स इन्क प्रालिले रसुवा जिल्ला र अन्य क्षेत्रमा बुधबार विनाशकारी बाढीबाट प्रभावित समुदायको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

विपद्को घडीमा नेपालीप्रति बीवाईडी र साइमेक्सको यो सहयोगले ऐक्यबद्धता र प्रतिबद्धतालाई झल्किएको छ । यो रकम नेपाल सरकारको आधिकारिक विपद् राहत र पुनस्र्थापना संयन्त्र मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा सञ्चालन हुनेछ ।

यो रकम उद्धार, उपचार, तत्काल राहत, पुनस्र्थापना र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा सरकारले गरिरहेको प्रयासमा सहयोगी हुने बीवाईडीले जनाएको छ । यसबाट प्रभावित परिवार र समुदायलाई पुनस्र्थापना र पुनर्निर्माणमा मद्दत पुग्ने कम्पनीको विश्वास छ ।

हालैको बाढीले रसुवामा ठूलो कठिनाइ ल्याएको छ । रसुवा नेपाल र चीन जोड्ने महत्त्वपूर्ण प्रवेशद्वार हो । यो क्षेत्र एक महत्त्वपूर्ण व्यापारिक करिडोर पनि हो र बीवाईडीको ठूलो संख्यामा गाडी नेपाल भित्रिने मुख्य नाका पनि हो ।
यो सहयोगबारे बीवाईडी ग्रुप उपाध्यक्ष तथा बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजन महाप्रबन्धक लिउ सुएलियाङले नेपालमा आएको बाढीले निम्त्याएको विनाश र कठिनाइबाट दुःखी भएको बताए ।

‘यो कठिन समयमा हाम्रो मन–मस्तिष्क प्रभावित परिवार र समुदायसँगै मैदानमा अहोरात्र खटिरहेका उद्धार टोली र सबैसँग छ,’ उनले भने, ‘बीवाईडी नेपाली जनतासँग ऐक्यबद्धता व्यक्त गर्दछ, हाम्रो स्थानीय साझेदार साइमेक्ससँग मिलेर यो सहयोगले सरकारको राहत र पुनस्र्थापना प्रयासमा केही बल पुग्ने र प्रभावित समुदायलाई पुनस्र्थापना र पुनर्निर्माणमा मद्दत गर्ने विश्वास लिएका छौं ।’

साइमेक्स इन्क नेपालमा बीवाईडीको आधिकारिक वितरक हो । दिगो गतिशीलता विकासमा साइमेक्सले बीवाइडीसँग नजिकबाट काम गर्दै आएको छ ।

बीवाईडी र साइमेक्स इन्कले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने प्रभावित समुदायको शीघ्र पुनस्र्थापना र पुनर्निर्माणको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्