Logo
Logo

मानसरोवर जाने तीर्थयात्री बोकेकाे ४० बस, यात्रु र कर्मचारी सम्पर्कविहीन


0
Shares

काठमाडौं । रसुवामा एक्कासी आएको बाढीपश्चात मानसरोवर जाने तीर्थयात्री बोकेका ४० बस र तीनमा सवार यात्रु तथा कर्मचारी सम्पर्कविहीन भएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मानसरोवर यात्रामा गएका तीर्थयात्री बोकेका अरनिको यातायात सेवा प्रालिका २५ वटा बस र नमस्ते पासाङ ल्हामु यातायात कम्पनीका १५ वटा सवारीसाधन र यात्रु तथा कर्मचारी सम्पर्कविहीन भएको जानकारी दिएको हो ।

महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले मानसरोवर यात्रामा गएका तीर्थयात्री बोकेका २५ वटा बसको अवस्थासमेत अहिलेसम्म अज्ञात रहेको बताए । उनले बससहित बसमा सवार यात्री र ५० जना कर्मचारी समेत सम्पर्कविहीन रहेको जानकारी दिए ।

यस्तै, नमस्ते पासाङ ल्हामु यातायात कम्पनी प्रालिका १५ वटा सवारीसाधन र ती सवारीमा रहेका यात्रुको अवस्थाबारे पनि कुनै जानकारी प्राप्त हुन नसकेको उनले बताए ।

यात्रुवाहक तथा मालवाहक सवारीसाधनमा व्यापक क्षति हुनुका साथै चालक, सहचालक र सवारी मजदुरसमेत सम्पर्कविहीन अवस्थामा रहेको उनले बताए ।

बुधबार बिहान भोटेकोशीमा एक्कासी आएको बाढीले नुवाकोट क्षेत्रमा ठूलो संख्यामा बस, माइक्रोबस तथा मालवाहक ढुवानीका सवारीसाधन प्रभावित भएको तथा ती सवारीमा कार्यरत चालक, सहचालक र मजदुरको अवस्था समेत अझै अज्ञात रहेको उनले बताए । सिटौलाले विपद्को यस घडीमा उद्धार तथा जोखिम न्यूनीकरण कार्यमा आ–आफ्ना स्थानबाट सहयोग गर्न समेत सबैमा अपिल गरे ।

बुधबार बिहान तिब्बततर्फबाट आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायत तल्लो तटीय क्षेत्रमा ठुलो मानवीय तथा भौतिक क्षति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्