Logo
Logo

उद्योगीलाई आतंकित बनाउनेलाई महाप्रबन्धक नियुक्त नगर्न माग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावविना नै मन्त्रिपरिषदको २०७५ पुस ६ को बैठकले नन्दकिशोर बस्नेतलाई औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडको महाप्रबन्धकसमेतको जिम्मेवारी पाउनेगरी नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले ठाडो प्रस्तावमा बस्नेतलाई नियुक्त गर्ने निर्णय गरी योग्यता सम्बन्धी कार्यविधि पनि संशोधन गरेको छ । र, उद्योग मन्त्रालयलाई कार्यविधि संशोधन गरी नियुक्ति दिनका लागि निर्देशन दिएको थियो । विभागीय मन्त्री मातृका यादवलाई बेवास्ता गर्दै बस्नेतले सिधै प्रधानमन्त्री सचिवालयलाई प्रभावमा पारी नियुक्तिको निर्णय गराएको स्रोत बताउँछ । औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडको महाप्रबन्धक विशिष्ट श्रेणीको पद हो । उक्त पदका लागि स्नातकोत्तर उत्तीर्ण भएको हुनुपर्छ । तर ८ कक्षा पास भएका बस्नेतलाई नियुक्त गर्नका लागि मन्त्रिपरिषदको गएको पुस ६ को बैठकले कार्यविधि नै संशोधन गरेको छ । तालुक मन्त्रालयको प्रस्तावमा कार्यविधि संशोधन गर्नुपर्नेमा ठाडो प्रस्ताव ल्याएर गरिएको छ । मन्त्रिपरिषदले ठाडो प्रस्तावबाट उनलाई नियुक्त गरेता पनि उद्योग मन्त्रालयले उनलाई नियुक्तिपत्र दिएको छैन । बस्नेत औद्योगिक क्षेत्रको प्रमुख हुँदा कानुन, विधि र प्रक्रिया अनुसार नचली स्वेच्छाचारी ढंगले चल्ने गरेको, उद्योगीहरुलाई प्रोत्साहित गर्नेभन्दा पनि निरुत्साहित गरेकाले उनलाई नियुक्त नगर्न देशभरका ९० प्रतिशत औद्योगिक क्षेत्रका उद्योग संघले प्रधानमन्त्री केपी ओलीलेखि मन्त्री मातृका यादवलाई अपील गरेका छन् । उद्योगहरु सबैतिरबाट मारमा परेको बेलामा बस्नेतले प्रोत्साहन गर्नुपर्नेमा जग्गाको भाडा १५० देखि ८ सय प्रतिशतसम्म बृद्धि गरी निरुत्साहित गरेको अपिलमा उल्लेख छ । उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्नका लागि औद्योगिक क्षेत्र स्थापना गरिएको हो । तर बस्नेत आएपछि उत्पादनमूलक उद्योगको जग्गाको भाडा अस्वभाविक रुपमा बृद्धि गरी पसल कवल खोल्ने र पेट्रोल पम्प खोल्नका लागि जग्गा उपलब्ध गराइएको छ ।

नन्दकिशोर बस्नेत

औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडको महाप्रबन्धक विशिष्ट श्रेणीको पद हो । उक्त पदका लागि स्नातकोत्तर उत्तीर्ण भएको हुनुपर्छ । तर ८ कक्षा पास भएका नन्दकिशोर बस्नेतलाई नियुक्त गर्नका लागि मन्त्रिपरिषदको गएको पुस ६ को बैठकले कार्यविधि नै संशोधन गरेको छ ।

नेपालगंज औद्योगिक क्षेत्र उद्योग संघका राजेश मास्केले २०७५ मघ ११ मा जारी गरेको विज्ञप्तिमा उल्लेख छ–‘औद्योगिक क्षेत्रको पूर्वाधार, ढल, सडकमा केही सुधार नगरी उद्योगी ब्यवसायीहरु सुख्खा मौसममा धुलो र बर्षातमा हिलो र बाढीको चपेटामा पहिले पनि र अहिले पनि भोगिरहेका छौं । तर औद्योगिक क्षेत्रको आयबृद्धि हुने भनी करोडौं रुपैयाँ लगानीमा पसल कवलहरु धमाधम निर्माण भइरहेका छन् । जुन औद्योगिक क्षेत्र सिर्फ उत्पादनमूलक उद्योग खोल्नका लागि मात्र स्थापना भएका हुन् । तर अल्पकालीन लाभ हुने खालका ब्यवसायलाई जग्गा दिई औद्योगिक क्षेत्रको उद्देश्यविपरीत जाने बस्नेतलाई पुनः नियुक्त नगर्न आग्रह गरिएको छ ।
त्यसैगरी, बालाजु औद्योगिक क्षेत्र अन्तर्गतको बालाजु उद्योग संघका अध्यक्ष मिलनप्रेम श्रेष्ठले २०७५ माघ ११ मै जारी गरेको विज्ञप्तिमा बस्नेतमा औद्योगिक क्षेत्रको नेतृत्व गर्ने कुनै पनि क्षमता नभएको र उनको कार्यकालमा उद्योगीहरु आतंकित पार्ने कार्यमात्र भएको उल्लेख छ । नेपालमा औद्योगिक क्षेत्रको विकास र विस्तार गर्ने उद्देश्यले औद्योगिक क्षेत्र ब्यवस्थापन लि.को स्थापना भएको हो । यसमा नियुक्त हुने अध्यक्ष तथा महाप्रबन्धक योग्य र औद्योगिकीकरणको भावना र मर्मलाई बुझी निस्वार्थ काम गर्नसक्ने ब्यक्ति हुनु जरुरी छ । विगत २० औं बर्षदेखि द्वन्द र संक्रमणकालले पिसिएको औद्योगिक क्षेत्रले योग्य, सक्षम र असल नियतको नेतृत्व नपाउँदा राष्ट्रिय आम्दानीमा १३ प्रतिशत जीडीपीमा योगदान गरिरहेको क्षेत्र हाल आएर ५ प्रतिशतमा झरेको तथ्यले उद्योगहरु धरासायी उन्मुख भएको संघको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी भक्तपुर औद्योगिक क्षेत्र उद्योग संघले जारी गरेको विज्ञप्तिमा बस्नेतले यसअघि औद्योगिक क्षेत्रको प्रमुखमा नियुक्त हुनासाथ उद्योगीहरुलाई विभिन्न कारण देखाई दुःख दिने कार्य गर्दै आइरहेको उल्लेख गरेको छ । उनी पुनः नियुक्त भए उद्योगीहरुले उद्योग संचालन गर्ने वातावरण नै नहुने र बन्द हुने उल्लेख छ ।
त्यसैगरी वीरेन्द्रनगर औद्योगिक क्षेत्र उद्योग संघ, पोखरा औद्योगिक क्षेत्र उद्योग संघले पनि बस्नेतलाई नियुक्त गरेर भएका उद्योग समेत बन्द हुने अवस्थामा नपु¥याउन प्रधानमन्त्री ओलीदेखि मन्त्री यादवलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्