Logo
Logo

यी हुन् विश्वका सबैभन्दा घातक हिमनदी विपद्हरू, कहाँ–कहिले के भयो ?


0
Shares

काठमाडौं । बुधबार बिहान एक्कासी नेपाल र चीनको तिब्बत क्षेत्रका हिमाली सीमा क्षेत्रमा ठूलो बाढी आयो । बाढीका कारण हालसम्म ४७५ जनाको मृत्यु भएको छ भने अझै ठूलो संख्यामा मानिस बेपत्ता छन् । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ ।

विश्वमा यसअघि पनि हिमनदी भत्किने तथा हिमताल फुट्ने घटना भएका छन्। त्यसले ठूलो जनधनको क्षति गराएका छन् । इतिहासका केही घातक हिमनदीजन्य विपद् यस्ता छन्ः

सन् १९४१- हुआराज, पेरु
उत्तरी पेरुको उच्च एन्डिज क्षेत्रमा हिमताल फुटेर आएको बाढीले हुआराज सहरको करिब एकतिहाइ भाग ध्वस्त पारेको थियो।

उक्त घटनामा अनुमानित ५ हजार मानिसको मृत्यु भएको थियो। यो इतिहासमा भएका सबैभन्दा घातक हिमताल विस्फोटजन्य बाढीमध्ये एक मानिन्छ।

सन् १९६२- रान्राहिर्का, पेरु
पेरुको सबैभन्दा अग्लो हिमाल माउन्ट हुआस्कारानबाट ठूलो हिमखण्ड खसेको थियो।

त्यसका कारण करिब १ करोड घनमिटर चट्टान, बरफ र हिउँ जम्मा सात मिनेटमै पहाडबाट तल खसेको थियो।

यसले रान्राहिर्का गाउँसहित आसपासका बस्तीलाई करिब १२ मिटर गहिरो हिलो र भग्नावशेषले पुरेको थियो। घटनामा अनुमानित ४ हजार मानिसको मृत्यु भएको थियो।

सन् १९७०- युङ्गे, पेरु
७.९ म्याग्निच्युडको भूकम्पले माउन्ट हुआस्कारानको उत्तरी भाग अस्थिर बनाउँदा इतिहासकै सबैभन्दा घातक हिमनदीजन्य विपद् निम्तिएको थियो।

हिमनदीको बरफ र चट्टानको विशाल भाग प्रतिघण्टा ३३५ किलोमिटर (२०८ माइल)सम्मको गतिमा युङ्गे र रान्राहिर्कातर्फ खसेको थियो।

यसले दुवै क्षेत्रलाई हिलो र भग्नावशेषमा पुरेको थियो। हिमपहिरोमा मात्रै अनुमानित २५ हजार मानिसको मृत्यु भएको थियो। भूकम्पबाट मृत्यु हुने कुल संख्या भने ५० हजारभन्दा बढी थियो।

सन् १९८१ – चिरेन्मा को, तिब्बत
चीन–नेपाल सीमाबाट करिब १४ किलोमिटर टाढा रहेको हिमताल चिरेन्मा कोमा माथिबाट झुन्डिएको हिमनदीको ठूलो भाग खसेको थियो।

त्यसबाट उठेको विशाल छालले हिमतालको मोरेन बाँध पार गरेको थियो। करिब २ करोड घनमिटर पानी, बरफ र भग्नावशेष नेपालतर्फ तीव्र गतिमा बगेको थियो।

यस घटनामा नेपालमा अनुमानित २०० जनाको मृत्यु भएको थियो। पुल, सडक, जलविद्युत् आयोजना र अन्य पूर्वाधारमा ४० लाख अमेरिकी डलरसम्मको क्षति पुगेको थियो।

सन् २०२१ – चमोली, भारत
भारतको दोस्रो अग्लो हिमाल नन्दादेवी नजिकैको रोन्ती चुचुरोबाट ठूलो हिमखण्ड खसेको थियो। त्यसले चट्टान, धुलो र बरफको विनाशकारी भेल करिब १ हजार ५०० मिटर तल उपत्यकातर्फ ल्याएको थियो।

यसबाट उत्तर भारतीय राज्य उत्तराखण्डमा ठूलो आकस्मिक बाढी आएको थियो। घटनामा २०० भन्दा बढी मानिसको मृत्यु भयो। बस्तीहरू बग्नुका साथै दुईवटा जलविद्युत् आयोजना पनि क्षतिग्रस्त भएका थिए।

सन् २०२६ – नेपाल–तिब्बत सीमा
नेपाल र तिब्बतमा एक हजारभन्दा बढी मानिस बेपत्ता छन्। हिमालयको एउटा हिमनदीको तल्लो भाग भत्किएर उपत्यकाको सतहमा खस्दा बरफ र चट्टानको ठूलो पहिरो ल्हेन्दे खोला हुँदै हिमाली सीमा क्षेत्रतर्फ बगेको थियो।

पहिरो तिब्बत तर्फबाट केरुङ बन्दरगाहमा ठोक्किँदै नेपालतर्फ समेत प्रवेश गरेको थियो। त्यसपछि तीव्र गतिमा आएको आकस्मिक बाढीले सडक, विद्युत् तथा जलविद्युत् संरचना बगाउनुका साथै विभिन्न बस्ती डुबाएको थियो भने ठूलाे मात्रामा भाैतिक तथा मानवीय क्षति भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्