Logo
Logo

माथिल्लो त्रिशूली-१ मा फसेकाहरूका आफन्त हेलिकप्टरमा घटनास्थलतर्फ लागे


630
Shares

काठमाडौं । रसुवा बाढीपछि माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा फसेकाहरूका आफन्त घटनास्थलतर्फ गएका छन् । आफन्तहरुको अवस्था सार्वजनिक गर्नुपर्ने मागसहित काठमाडौं थापाथलीस्थित नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी) को कार्यालयमा धर्ना दिएका थिए । त्यसपछि कम्पनी र आफन्तबीच सहमति भएपछि उनीहरूले तयस तर्फ लागेका हुन् । 

The current image has no alternative text. The file name is: tirsuli-2.jpg

फसेकाहरूका आफन्तलाई सहमति भएपछि दुई वटा हेलिकप्टर मार्फत घटनास्थलतर्फ लगिएको हो । उनीहरूले घटनास्थल पुगेर आफन्तको अवस्था, उद्धारको प्रगति तथा आयोजनास्थलमा भएको क्षतिको अवलोकन गर्नेछन् । पाँच दिनसम्म स्पष्ट जानकारी नपाएपछि उनीहरूले आफन्तको  ‘जीवित भए उद्धार, नभए शव’ माग गरेका थिए ।

कम्पनी र पीडित पक्षबीच भएको सहमतिमा खोज तथा उद्धारका लागि हेलिकप्टर र उद्धार टोली उपलब्ध गराउने, प्रभावित स्थानमा जान आवश्यक यातायात व्यवस्था गर्ने तथा उद्धार र खोजका लागि घटनास्थल जाने आफन्तको खर्च कम्पनीले बेहोर्ने उल्लेख छ ।

त्यस्तै आयोजनामा कार्यरत सम्पूर्ण कर्मचारीको अवस्थाको विवरण पीडित पक्षलाई उपलब्ध गराउने, घटनाको दिनको सीसीटीभी फुटेज उपलब्ध गराउने, कम्पनीले तत्कालका लागि तयार गर्ने एक्सन प्लान पीडित पक्षलाई उपलब्ध गराउने र आवश्यकता अनुसार सरकारी संयन्त्रसँग समन्वय गर्ने सहमति भएको छ ।

आफन्तले बाढी आएको दिनदेखि नै कम्पनीले आयोजनास्थलमा रहेका व्यक्तिको अवस्थाबारे पर्याप्त जानकारी नदिएको आरोप लगाउँदै आएका थिए ।

कम्पनीका अनुसार माथिल्लो त्रिशूली-१ आयोजनामा ५ सय ७६ कामदार थिए भने मैलुङस्थित साइट कार्यालयमा ७५ जना थिए । आफन्तहरूले घटनास्थलमै पुगेर आफ्ना मान्छे कहाँ र कस्तो अवस्थामा छन् भन्ने प्रत्यक्ष जानकारी लिन पाउनुपर्ने माग राख्दै आएका थिए ।

कम्पनीसँग भएको सहमतिपछि भने आफन्तलाई नै घटनास्थल लगेर वास्तविक अवस्था देखाउने बाटो खुलेको छ । त्यसका लागि दुइटा हेलिकप्टर मार्फत उनीहरूलाई घटनास्थलतर्फ पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस्