Logo
Logo

अत्यावश्यक उद्धार बाहेक हेलिकप्टर नमाग्न सरकारको अनुरोध


441
Shares

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक कामबाहेक हेलिकप्टर उद्धार नमाग्न अनुरोध गरेको छ ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले एक सूचना जारी गर्दै सीमित साधन स्रोतको अत्यावश्यक कार्यमा मात्र प्रयोग हुने वातावरण बनाउन आग्रह गरेकी हुन् । प्राधिकरणका अनुसार बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका विभिन्न वडा बढी प्रभावित भएका छन् । प्रभावित स्थानबाट हालसम्म २५२ जना विदेशी र तीन हजार ३४४ जना नेपालीको हवाई उद्धार भइसकेको छ ।

तर न्यून मात्र प्रभावित भएका, प्रभावित नभएका र उच्च स्थानमा सुरक्षित रहेका व्यक्तिहरूबाट समेत हेलिकप्टर उद्धारको माग भइरहेको प्राधिकरणले जनाएको छ । आपतकालीन अवस्थामा खोज, उद्धार तथा राहत सामग्री ढुवानीका लागि मात्र हेलिकोप्टरको प्रयोग गर्नुपर्ने अवस्था रहेको र वैकल्पिक सडक मार्गहरू समेत खुल्न थालेकाले हेलिकप्टर आवश्यक नपरेकाहरूलाई सडक मार्ग प्रयोग गर्न भनिएको छ ।

सञ्चालनमा रहेका वैकल्पिक मार्गहरू अन्तर्गत धादिङ जिल्ला जोड्ने मार्ग धादिङबेसी परेवाटारदेखि मास्टारसम्म र रसुवा जिल्ला जोड्ने मार्ग विदुरदेखि धुन्चे जाने बाटो चार चक्के साना सवारी साधन चल्ने गरी सञ्चालनमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्