Logo
Logo

भोटेकोशीले निम्त्याएको महाप्रलय


252
Shares

गत बुधवार बिहान ८ः३७ बजे अचानक रसुवाको भोटेकोशी नदीमा बाढी आयो । अप्रत्याशित रूपमा आएको बाढीले नसोचेको वितण्डा मच्चायो । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा धेरै मानवीय तथा भौतिक क्षति भएको छ । सयौँको मृत्यु, हजारौँको सङ्ख्यामा बेपत्ता भएका छन् । घरबार विहीन भएका नागरिकहरू आकाशलाई छानो मानेर भुईँमै अस्तव्यस्त जीवन व्यतीत गर्न बाध्य भएका छन् ।

वर्षौँको मेहनत, परिश्रमले जोडेको हजारौँको वासस्थान बगरमा परिणत भएको छ । खाइ खेली हुर्केको आफ्नो गाउँ हेर्दाहेर्दै आँखै अगाडि बगाएको छ । हेर्दाहेर्दै आफ्नो आफन्तजन परिवारलाई बगाएको छ । न सास न लासको प्रतीक्षामा परिवारजन तड्पिइरहेका छन् । सकुशल भेटिने आशा पनि मरेको छैन । भोटेकोशी बाढीले हजारौँको जीवनमा दर्दनाक अवस्था निम्त्याएको छ । यतिखेर सिङ्गो देश दुखेको छ ।

बाढीका कारण कयौँ गाउँहरू बगेका छन् । पुल पुलेसो छैनन् । स्कुलहरू छैनन् । बजार छैन । सडक सञ्जाल, बैंक तथा वित्तीय संस्थाहरू केही पनि वाकी रहेनन् । बल्लतल्ल भागेर ज्यान बचाएकाहरूको पनि आफ्नो परिवार छैन । बस्तीहरू एकाएक खण्डहर बनेका छन् । गाउँ बस्ती, बाटोघाटो माटैमाटोले पुरिएको छ । हिलाम्मे अवस्थामा पहिचान गर्न नै कठिन हुने अवस्थामा बस्तीहरू पुगेका छन् ।

जब एक्कासी बाढी आयो, ‘ऐया’ भन्न पनि पाएनन्
गत १० भदौ बुधवार बिहान करिब ८ः३७ मा भोटेकोशी नदीमा बाढी आयो । यो बाढी चीनको तिब्बततर्फबाट ताल फुटेर अचानक हिमपहिरो बगेर आएको थियो । जसले भोटेकोशीदेखि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रसम्म व्यापक धनजनको क्षति ग¥यो । बाढीको मुहान चीनबाट बग्ने ल्हेन्दे नदीको नजिक नेपालतर्फ रहेको हिमचट्टान फुटेर भएको बताइएको छ ।

बाढी चीनबाट नेपाल प्रवेश गर्ने मुख्य बिन्दु रसुवागढी र टिमुरे क्षेत्रमा प्रवेश गर्नासाथ भौतिक र मानवीय क्षति सुरु भयो । रसुवागढी जुन व्यापारिक नाका पनि हो । व्यापारिक प्रयोजनका लागि आयात गरिएका सयौँ इभि गाडी र सयौँ मालसामान बोकेका कन्टेनर बगायो । रसुवागढीमा रहेका कसैलाई कुनै पूर्वसूचना थिएन । त्यसैले बाँच्नका लागि कुनै पूर्वतयारी पनि भएन । ठूलो बाढी देखेर भागेकाहरूले पनि त्यसको घनत्वको अनुमान गर्न नसक्दा साइडतर्फ नभई बाढी बगेकै गतितिर भागेका कारण बच्ने सम्भावना रहेन ।

तिर्थयात्रामा हिडेका कयौँ मानिसहरू, सरकारी कार्यालयमा काम गरिरहेका कर्मचारीहरू, सुरक्षा दिइरहेका सुरक्षाकर्मीहरू, व्यापारमा व्यस्त व्यापारीहरू, सडकमा हिँडिरहेका बटुवा, घरमै बसिरहेका वृद्ध वृद्धा र केटाकेटी कसैले पनि ‘ऐया’ सम्म भन्न पाएनन् । भुँइचालो, बाढी वा पहिरो के हो ? कि कुनै दुर्घटना पो हो कि भन्ने कुनै भेउ नपाउँदै सयौँको जीवन बाढीसँगै हेलिए ।

रसुवागढी–टिमुरेको यो अवस्था आउनासाथ स्थानीयले केही तल रहेको स्याफ्रुबेँसी बजारका स्थानीय तथा आफन्तहरूलाई जानकारी गराएका थिए । बस्ती छोडेर भाग्न भन्दै टेलिफोन गरेका थिए । कतिले त्यो कुरालाई गम्भीरतापूर्वक लिएर भागे । तर कति मानिसहरू भाग्न नपाउँदा र बाढीको घनत्वको नजरअन्दाज गर्दा बाढीको सिकार हुनुप¥यो । स्याफ्रुबेँसी बजार पनि बाढी र लेदोका कारण खण्डहर बन्यो ।

बेपत्ता परिवारको बिलौना
जयपृथ्वी नगरपालिका वडा नं. ८ बझाङ स्थायी निवासी ३२ वर्षीय हेमन्तराज जोशी चिलिमे जलविद्युत कम्पनी अन्तर्गत कार्यरत थिए । त्रिशूली ३ ’बी’को साइटमा कार्यरत उनी बाढी पछि बेपत्ता छन् । बहिनी सावित्री जोशी आफ्नो दाजुलाई खोजीदिन हारगुहार गरिरहेकी छन् । सुरुङमा फसेको हुनसक्ने अथवा बाहिर कुनै अवस्थामा रहेको हुनसक्ने भन्दै समयमै खोजी र उद्धारका लागि जोशी परिवारले बिलौना गरिरहेको छ । तर जोशी हालसम्म सम्पर्कमा आउन सकेका छैनन् । न त उनको स्थिति बारे सरकारले जानकारी नै दिन सकेको छ ।

रसुवाकै टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक ३५ वर्षीय रामचन्द्र बिक पनि बाढीपछि बेपत्ता छन् । उनको अज्ञात अवस्थाका कारण परिवार दिनप्रतिदिन चिन्तित बनेका छन् । उनका भाइ अनिल विकले हरेक उद्धार भएका व्यक्तिको अनुहारमा आफ्नो दाजुको अनुहार खोजिरहेका छन् । दाजुलाई सकुशल भेटिने आशा अझै मरेको छैन । र पनि चिसो मन पार्दै शवमा पो भेटिने हो कि भनेर त्यता पनि आँखा डुलाएका छन् । तर न सकुशल न मृत शरीर आजको दिनसम्म केही नपाउँदा परिवारमा पीडामाथि पीडा थपिएको छ ।

माथिका दुई प्रतिनिधि परिवारजस्तै सयौँ परिवारको पिडा त्यस्तै छ । आफ्नो परिवारको सदस्यको खोजीमा आँखा ओभानो छैनन् । मन शान्त छैन । केवल पुनः भेटिने प्रतीक्षामा दिन गन्दै बसिरहेका छन् प्रभावित परिवार ।

६० घण्टापछि ६ वर्षिया बालिकाको जिवितै उद्धार
बाढीको ६० घण्टापछि ६ वर्षीया मनीषा उचाईमगरलाई सशस्त्र प्रहरीको टिमुरेस्थिती बीओपी (बोर्डर आउट पोस्ट)को टोलीले जीवितै उद्धार गर्न सफल भयो । यो घटनाले सशस्त्र प्रहरी बलको विदेशी सञ्चार माध्यमले समेत प्रशंसा गरेको छ । माटो मुनि बच्चा रोएको जस्तो आवाज सुनेपछि सशस्त्र प्रहरी उद्धारमा जुटेको थियो ।

उनकी आमा टिमुरेस्थित ग्लोबल आईएमई बैंककी कर्मचारी थिइन् । आमाबाबुसहित सपरिवारलाई बाढीले बगाएको थियो । बाढीको छालले आमाबाबुलाई किनारामा फालिदिएपछि उनीहरू भने बाँच्न सफल भएका थिए । मनीषा टाउको बाहेक पुरिएको अवस्थामा जमिनमुनि भेटिएकी थिइन् । उनलाई हेलिकप्टरमार्फत धुन्चे लगेर उपचार गरिँदै छ । अहिले बालिकाको स्वास्थ्य अवस्था सुधार भएको छ ।

जलविद्युतको सुरुङमा फसे मजदुर
घटना भए लगत्तै बुधबारदेखि नै नेपाली सेना उद्धारको काममा खट्यो । स्थल तथा हवाई मार्गबाट नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरी सीमित स्रोत, साधनको बिचमा पनि उद्धारको काममा खटिरहेको छ । विभिन्न हाइड्रोपावरमा फसेकाहरूको खोजी तथा उद्धार निकै नै चुनौतीपूर्ण बनेको छ । हाइड्रोपावरको सुरुङ फसेकाहरूको उद्धारमा अनुभव नहुनु, प्राविधिक उपकरण पनि नहुनुले उद्धारको काम चुनौतीपूर्ण बनेको हो ।

यसैबिच, अप्पर त्रिशुली हाइड्रोपावरको सुरुङमा फसेका ५०० भन्दा बढी मजदुर तथा स्थानीयलाई नेपाली सेनाले उद्धार ग¥यो । सुरुङभित्र मानिसलाई डुबाउनेगरी लेदो पसेको छ । लेदोमा ज्यान बचाएर बसेकाहरूलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ । अझैँ सयौँको सङ्ख्यामा विभिन्न हाइड्रोपावरमा मानिसहरू फसिरहेका छन् । उनीहरूको उद्धारका लागि नेपाली सेना सक्रिय भएर लागिरहेको छ । सुरुङमा उद्धारका लागि भारत र चीनबाट विशेषज्ञ प्राविधिक टोली पनि आएका छन् ।

रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि पनि नेपाली सेना सक्रिय भएर लागिपरेको छ । त्यस्तै, त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि पनि सुरक्षा निकाय लागि परिरहेको छ ।

नुवाकोटस्थित माथिल्लो त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि पनि नेपाली सेना लगायतका सुरक्षा संयन्त्र चुनौती मोलेर लागिपरिरहेका छन् । यस विपद्को घडिमा सुरक्षा संयन्त्रले संकटको सारथीको रूपमा आफूलाई उभ्याएका छन् ।

शव पहिचान नहुँदै व्यवस्थापन गर्नाले परिवार चिन्तित
बाढी प्रभावित जिल्लाहरूमा सयौँको सङ्ख्यामा शवहरू भेटिएका छन् । एकाध बाहेक सग्लो शव भेटिएका छैनन् । पहिचानमा कठिन हुनेगरी शव भेटिएका छन् । नदी किनाराहरूमा बेवारिसे अवस्थामा शरिरबाट छुट्टिएका विभिन्न अङ्गहरू भेटिएका छन् । पहिचानमा कठिन भएको शवहरूलाई गाड्न थालेको छ । जिल्ला सुरक्षा समिति चितवनको चितवनको निर्णय अनुसार भरतपुर महानगरपालिका वडा नं १ स्थित देवघाटको खुला स्थानमा जमिनमुनि गाड्न थालिएको छ । यद्यपि, शवहरूको डिएनए नमुना संकलन गर्ने र संकेत नम्बर राखेर पछि पनि पहिचान गर्न सकिनेगरीको अवस्थामा राखिने जनाइएको छ ।

बेपत्ता व्यक्ति भेटिने आशामा शवमा आँखा डुलाइरहेका परिवार पहिचान नभएका शव व्यवस्थापन गर्ने यस निर्णयले दुःखि देखिएका छन् । शवको पहिचान गर्न कठिन भएकोले सद्गद् गर्न पनि कठिन भएको छ । कुन शव कसको हो त्यो पनि थाहा नहुँदा सङ्ख्यामा शवहरू अलपत्र परेका छन् ।

प्रधानाध्यापकको सेकेन्ड भरको निर्णयले बाँच्यो सयौँ विद्यार्थीहरूको ज्यान
त्रिशुली नदीको किनारा नजिकै रहेको नुवाकोटस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई बाढीले पूर्ण रूपमा बगायो । बुधबार बाढी आउने समयमा विद्यालयमा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरू नियमित काममा थिए । १६ सयभन्दा बढी विद्यार्थीहरू रहेका सो स्कुलमा बाढी आउने समयमा करिब ९०० जना विद्यार्थीहरू विद्यालय परिसरमा रहेका थिए । बेत्रावति बजार बाढीले बगाएसँगै माथिल्लो क्षेत्रका मानिसहरूले तल्लो तटीय क्षेत्रका आफ्ना आफन्तजनहरूलाई फोन गरेर ठुलो बाढी आएकाले सुरक्षित स्थानमा भाग्न आग्रह गरिरहेका थिए । त्यसैले बाढीको सूचना केही विद्यार्थीहरूले पाएका थिए । केही विद्यालय कर्मचारीहरूले पनि सूचना पाए ।

उनीहरूले पाएको सूचना प्रधानाध्यापक राजेन्द्र दवाडीलाई सुनाए । केही अभिभावकहरू आफ्ना छोराछोरीलाई लिन विद्यालयमै आएका थिए । छोटो अवधिमै चौतर्फी बाढीको सूचना आफ्नो कानमा परेसँगै प्रधानाध्यापक दवाडीले शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई उकालोतर्फ भाग्न निर्देशन दिए । उनी विद्यालय परिसरमै बसेर सबैलाई भगाए र भागे नभागेको यकिन गरे । सबै भागिसकेपछि आफ पनि भागेर ज्यान जोगाए ।

दवाडीले विद्यालय बसलाई टेलिफोन गरेर अगाडि नबढ्न समेत आग्रह गरेका थिए । कक्षा ११ र १२ को बिहानी सत्रमा पढाइ हुने गरेको र कक्षा ८, ९ र १० का विद्यार्थीहरूको पनि अतिरिक्त कक्षा चलिरहेकाले विद्यालयमै थिए । अन्य कक्षाका धेरै विद्यार्थीहरू आइसकेका थिए भने कति बाटोमा आउँदै पनि थिए । यसरी समयमै पाएको सूचना र प्रधानाध्यापकले समयमै गरेको उचित निर्णयले ९०० भन्दा बढी विद्यार्थीहरूको जीवन बचेको छ । आफ्नो ज्यान जोखिममा राखेरै भएपनि सबै विद्यार्थीहरूलाई भगाएर मात्रै आफू भागेका प्रधानाध्यापक दवाडी यतिखेर प्रशंसाका पात्र बनेका छन् ।

बाढीले रसुवाका ७, नुवाकोटका ८ र धादिङका ४ गरी १९ विद्यालयहरू पूर्ण र आंशिक रूपमा क्षति भएको छ । यसले हजारौँ विद्यार्थीहरूको भविष्यलाई अन्योल पारेको छ ।

प्रतिक्रिया दिनुहोस्