
काठमाडौं । नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग अवरुद्ध भएको जनाएको छ । प्रहरीद्वारा आज बिहान जारी बुलेटिनमा कतिपय सडकखण्डमा पहिरो र बाढीका कारण यातायात पूर्ण रूपमा रोकिएको छ भने केही मार्गमा वैकल्पिक सडक प्रयोगको व्यवस्था गरिएको उल्लेख छ ।
बुलेटिनका अनुसार धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा त्रिशूली नदीले सडक कटान गर्दा सडक भासिएर यातायात पूर्ण रोकिएको छ । सोही राजमार्गको गजुरी गाउँपालिका–२ परेवाभिरमा बाढीका कारण सडकको तल्लो भाग करिब २० देखि २५ मिटर भासिएपछि यातायात सेवा अवरुद्ध छ ।
साथै रसुवामा यही भदौ १० गते आएको विनासकारी बाढीका कारण पासाङल्हामु राजमार्गको त्रिशूली नदी किनारको अधिकांश भाग कटान भई राजमार्गमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध छ । स्याफ्रुबेँसीसम्म पुग्न काठमाडौँ–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पाच्र्याङ–भोर्ले–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे हुँदै स्याफ्रुबेँसीसम्मको सिङ्गल लेन कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने छ ।
यस्तै, नुवाकोटको विदुर–लाच्याङ सडकखण्डमा सूर्यगढी गाउँपालिका–१ लाच्याङ डाँडामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । नुवाकोटकै टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधनलाई राति १० देखि बिहान ५ बजेसम्म आवतजावतमा रोक लगाइएको छ । लमजुङको बेँसीसहर–मनाङ सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरेभिरमा अविरल वर्षाका कारण पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । मुगुको नाग्म–गमगढी सडकखण्डमा पनि वर्षाका कारण ढुङ्गा, माटोसहितको लेदो आएपछि यातायात रोकिएको छ ।
बैतडीको दशरथचन्द नगरपालिका–८ झुलाघाटस्थित गोठालापानी–झुलाघाट सडकखण्डमा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ । इलामको मेची राजमार्गअन्तर्गत राजदुवालीमा वर्षाका कारण सडकमा हिलो भएपछि अवरुद्ध भएको सडक हाल साना सवारीसाधनका लागि सञ्चालनमा आएको छ ।
प्रहरीले मकवानपुरमा भने विभिन्न राजमार्गमा सवारी सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरिएको र १० चक्कासम्मका मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधन काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको जनाएको छ ।
त्यसैगरी, प्रहरीका अनुसार १४ सिटभन्दा कम क्षमताका यात्रुवाहक सवारीसाधन हेटौँडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी तथा काठमाडौँ जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग प्रयोग गर्नुपर्ने हुन्छ ।
विपद्को समयमा अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, सवारीसाधन तोकिएको पालोमा सञ्चालन गर्न, ओभरटेक नगर्न तथा ट्राफिक प्रहरी र सुरक्षाकर्मीको निर्देशन पूर्ण रूपमा पालना गर्न सम्बन्धित निकायले अनुरोध गरेको छ ।
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर साँझ ६ देखि बिहान ४ बजेसम्म सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ । बिहान ४ देखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन हुने व्यवस्था गरिएको छ ।
















