Logo
Logo

भोटेकोशीमा किन छिराइयो राजनीति ?


शरद रिजाल

0
Shares

गत भदौ १० गते चीनको स्वशाशित क्षेत्र तिब्बतबाट भोटेकोशीमा आएको अपत्याशित र अकल्पनीय बाढीले ठूलो जनधनको क्षति पुर्यायो । रसुवा, नुवाकोट, धादिङ र चितवनमा सयौंको शव भेटिएको छ भने अझै पनि हजारौं नागरिकको अवस्था अज्ञात छ । सरकारले बाढी आएकै दिन खोज तथा उद्धारमा देखाएको सक्रियता निकै सह्रानीय छ । गृहमन्त्री सुधन गुरुङ बाढी प्रभावित क्षेत्रमै पुगेर उद्धारमा खटिएका छन् । प्रधानमन्त्री बालेन्द्र साह पनि बाढीग्रस्त क्षेत्रमा स्थलगत निरीक्षणका लागि पुगेर फर्किनु सकारात्मक कदम नै हो ।

तथापि, सरकारको सुरुगमा फसेका नागरिकको उद्धारका लागि विदेशी विज्ञ नलिने हठात्को निर्णयले मानवीय क्षति बढाएको छ । बेलैमा विदेशी विज्ञलाई ल्याउन सकेको भए बाढीग्रस्त क्षेत्रमा रहेका विद्युत उत्पादन केन्द्रका सुरुङमा फसेका व्यक्तिको जीवितै उद्धार गरेर मानवीय क्षति कम हुने भन्दै सरकारको आलोचना भइरहेको छ ।

सुरुङमा फसेका नागरिकलाई उद्धार गर्ने सामथ्र्य नहुँदा पाँच–छ दिनसम्म पनि त्यहाँ थुनिएका छन् । यसले नेपाली सुरक्षा निकायलाई थप शिक्षा दिएको छ । विपद्मा खटिएका सेना प्रहरीलाई अहिलेसम्म सुरुङबाट उद्धार गर्ने विज्ञता हासिल गर्न सक्षम बनाउन नसक्नु बिडम्बनापूर्ण अवस्था हो । यसबारेमा आगामी दिनमा सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी छ ।

प्राकृतिक विपत्ति आकस्मिक रुपमा आउने भएकाले यसबाट जोगिने उपाय भनेको पूर्वतयारी मात्रै हो । सरकारले यसको पूर्वतयारी भन्दा पनि विपद्पछिको उद्धारमा सक्रियता देखाएकै हो । राज्यको सीमित स्रोत साधनका बाबजुद आफ्नो सामथ्र्य अनुसार सरकारले पहल गरिरहेकै छ । तथापि, यही भोटेकोशीको बाढीले निम्त्याएको महाविपत्तिपछि अनेकौं तवरका भूराजनीतिक स्वार्थप्रेरित कपोलकल्पित आक्षेपले भने दुई देशीय सम्बन्धमा आघात पुर्याउने नियतका साथ प्रकट भएको छ । चिनियाँ पक्षले पूर्व जानकारी नदिएकोदेखि नियोजित रुपमा नेपाललाई चेतावनी दिन बाढी पठाएको भन्नेसम्मका तथ्यहीन अफबाहजन्य टिप्पणी समेत यो घटनालाई लिएर गरिएको छ ।

प्राकृतिक विपत्तीमा समेत भूराजनीतिक चलखेल देख्ने सामान्य जनस्तरको टिप्पणी नभएर कतिपय सञ्चारमाध्यमले समेत यस्तै आक्षेप लगाउँदै चिनियाँ पक्षलाई दोषारोपण गर्ने गल्ती गरेका छन् । यो गलत कार्य मात्रै नभएर नेपालको परराष्ट्र सम्बन्धमा आँच पुर्याएर अमुक शक्ति राष्ट्र रिझाउने कुत्सित मनशाय हो । चीनको तिब्बतमा हिमताल फुटेर बाढी आएको परिघटनालाई भूराजनीतिको लेपन लगाएर दोषारोपण गरेको विषयलाई चिनियाँ दूतावास सार्वजनिक रुपमै खण्डन गर्न बाध्य भएको छ ।

नेपालस्थित चिनियाँ दूतावासले यसबारेमा ध्यानाकर्षण भएको जनाउँदै नेपाल सरकारसँग निरन्तर सम्वाद गरेको जनाएको छ । गत अगस्टमा चिनियाँ विज्ञान प्रतिष्ठान अन्तर्गतको पर्वतीय विपद् तथा वातावरण सम्बन्धी अनुसन्धान संस्थाको विज्ञ टोलीले नेपाल भ्रमण गरेर हिमतालको निगरानी र त्यसको जोखिम व्यवस्थापनबारे अनुभव आदान प्रदान गराएको सन्दर्भ पनि जानकारी गराएको छ । यसअघि पनि चीनतर्फबाट आएको बाढीले नेपाल चीन जोड्ने मितेरी पुल बगाएको थियो भने नेपालको सीमावर्ती जिल्लामा ठूलो क्षति पुगेको थियो । अहिले त्यसको तुलनामा नेपालमा निकै भयानक र भयावह क्षति पुर्याएको छ ।

यो प्राकृतिक विपत्तिको सबै मिलेर सामना गर्नुपर्नेमा अमुक राष्ट्रप्रतिको अघोषित पक्षधरता दर्शाउँदै छिमेकी चीनकै कारण उत्पन्न परिस्थिति जसरी गिजोल्ने दूराशययुक्त अभिव्यक्ति सर्वथा अनुचित मात्रै होइन, आपत्तिजनक छ । कतिपयले त नेपालमा चीन विरोधी गतिविधि नांगो रुपमा बढेपछि चेतावनीस्वरुप चिनियाँ पक्षले बाढी पठाएको अफबाह समेत फैलाएका छन् ।

यी सबै अनर्गल प्रचार सामान्य रुपमा जनस्तरबाट मात्रै आउनु अज्ञानताको उपज हुनसक्छ । तर आफूलाई राजनीतिक विश्लेषक र उच्च कोटीका पत्रकार भन्नेहरुबाटै नियोजित रुपमा आउनु किमार्थ राम्रो संकेत होइन । यो भूराजनीतिक स्वार्थप्रेरित अमुक शक्ति रिझाउने र उत्तरी छिमेकी चिढ्याउन नियोजित रुपमा चलाइएको प्रोपगान्डा हो ।

विगत ०७२ सालको संविधान निर्माणको क्रममा भारतले नेपालमाथि लगाएको नाकाबन्दीलाई नाकाबन्दी शब्दसमेत उच्चारण गर्न नसक्नेहरुले प्राकृतिक विपत्तिमा भूराजनीतिक कारण दर्शाउनु छिमेकी चीन चिढ्याउने षड्यन्त्रको उपज हो । अहिलेको जटिल अवस्थामा दुई छिमेकीसँग मित्रवत सम्बन्ध कायम गर्दै नेपालले सहयोग लिएर भोटेकोशी बाढीले निम्त्याएको संकट निवारणमा जुट्नुपर्छ । यसलाई देखाएर भूराजनीतिक स्वार्थपूर्ति गर्ने कामले मुलुकलाई हित गर्दैन ।

जेनजी विद्रोह र त्यसयताका परिघटनाले चिनियाँ पक्ष सशंकित बनेको छ । दलाई लामाको शुभकामना सन्देशदेखि जन्मोत्सवम मनाउँदै तिब्बतसम्बन्धी कार्यक्रम गर्न अनुमति दिनु त्यसकै निरन्तरता हो । यी सबै घटनाक्रमलाई चीनले मिहिन ढंगले नियालिरहेको छ । यसलाई थप गिजोलेर चीन विरोधी गतिविधि बढाउने प्रयत्न देशी विदेशी स्वार्थ समूहबाट भएको हुनसक्छ । यस्ता गतिविधिबाट सबै सचेत हुनु आवश्यक छ ।

भोटेकोशी बाढीले भयावह अवस्था निम्त्याउनुमा प्राकृतिक कारण नै प्रमुख हो । तर मानवीय क्षति कम गर्न सुरक्षाकर्मीले समयमै दिएको सूचना अवज्ञा गर्दा पनि मानवीय क्षतिको अनुपात बढेको सम्बन्धित जिल्लाका स्थानीयहरुले समेत बताएका छन् ।

प्राकृतिक विपत्ति नेपालले विगतदेखि नै भोग्दै आएको छ । प्राकृतिक विपत्तिमा मानवीय क्षति कम गर्ने उपाय भनेकै पूर्वतयारी हो । यसका लागि मुलुकका तीनै तहका सरकारले सजगतापूर्वक जोखिम व्यवस्थापनको पूर्वतयारी गर्नु नै बुद्धिमतापूर्ण हुन्छ ।

अहिलेको महाविपत्तीले मुलुक नै स्तब्ध भएको छ । यसले रसुवा र नुवाकोटका कैयौं बस्ती नै उजाडिएर हजारौं परिवार घरबारविहीन बनेको छ । यस्तो दर्दनाक अवस्थामा आम नेपाली उद्धार राहत र पुनस्र्थापनामा जुट्नुपर्ने बेलामा भूराजनीतिक अफबाह फैलाएर परापूर्वकालदेखि दुईदेशीय को सम्बन्ध खलबल्याउने प्रयत्न सर्वथा निन्दनीय छ ।

प्राकृतिक विपत्तिका बेला सूचना आदानप्रदान, पूर्वचेतावनी प्रणाली र दुई देशबीचको समन्वय प्रभावकारी हुनुपर्नेमा कसैको दुई मत हुन सक्दैन । त्यसैले यसलाई गम्भीरतापूर्वक मनन गरी आरोप–प्रत्यारोपभन्दा पनि बाढीको वास्तविक कारण पहिल्याएर आगामी दिनमा सचेत बन्न पूर्वतयारीमा जोड दिन दुई देशीय सहयोग आदान प्रदान जरुरी छ । पूर्वसूचना प्रवाह र सम्बन्धित निकायको भूमिका प्रभावकारी बनाउँदै भविष्यमा यस्ता विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि नेपाल–चीनबीच सीमा क्षेत्रमा निगरानी आवश्यक छ ।

अर्कोतिर, भोटेकोशीको बाढीबाट आएको विपत्तिले नेपालीजनको मानवीय संवेदनाहीनता पनि उजागर गरेको छ । बाढीको कहरका बीच मानिसको शवको उद्धारमा गर्नुपर्ने बेलामा कतिपय स्थानमा ग्यासको सिलिण्डर बोक्ने र आम मानिसको उद्धारभन्दा प्रचारबाजीमा रमाउने प्रवृत्ति देखापरेको छ । भोटेकोशी बाढीग्रस्त क्षेत्रबाट बगेको बैंकको सेफ समेत फोडेर पैसा लैजाने आपराधिक मनोवृत्ति देखापरेको छ ।

अझै यसमा स्थानीयतहका जनप्रतिनिधि नै संलग्न भएको समाचार सार्वजनिक भएपछि नेपाली समाजको आपराधिक मानसिकता र बढ्दो गैरजिम्मेवारपन सतहमा ल्याएको छ । विपत्तिमा मानवीय भावनाले ओतप्रोत भएर सहयोगका लागि उद्यत रहनु नै हरेक जिम्मेवार नागरिकको दायित्व हो । विपद्को घडीमा अरुको दुःखमाथि फाइदा उठाउनु सभ्य समाजका लागि लज्जाको विषय हो ।

प्राकृतिक विपत्तिले निम्त्याएको मानवीय संकटमा सेवाभाव प्रदर्शन गर्ने भन्दा पनि यही समस्यामा क्षणिक लाभ आर्जन गर्ने प्रवृत्तिले हाम्रो चेतनास्तर उदांगो पारेको छ । बाढीले बगाएर ल्याएको शवको उद्धार गर्नेभन्दा पनि शवबाट गरगहना लुछ्ने पाशविक दृश्यले नेपाली समाजमा बढ्दै गएको अमानवीय र क्रुर पक्ष उदांगो पारेको छ ।

यसले नेपाली समाजमा सहयोगको भावना भन्दा पनि आपत्कालीन अवस्थामा पनि आफ्नो निहीत स्वार्थपूर्ति गर्ने गैरजिम्मेवार अमानवीय चरित्र प्रदर्शित गरेको छ । भोटेकोशी बाढी अहिले केवल प्राकृतिक विपत्तिको घटना मात्रै नभएर यसले हाम्रो कमजोर मानवीय पक्ष, कूटनीतिक संवेदनशीलताको परीक्षा र सामाजिक चरित्रका केही कुरूप पक्षलाई एकैपटक उजागर गरेर गम्भीर शिक्षा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्