Logo
Logo

बाइरोडबाट ८७ हजार बढी ग्यास सिलिन्डर काठमाडौं भित्रिए


0
Shares

काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा त्रिभुवन राजपथ (बाइरोड) मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ ।

गएको भदौ १४ गते त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक भत्किँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेटहरू रोकिएका थिए । त्यसपछि निगमले वैकल्पिक मार्ग बाइरोड प्रयोग गरी बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरी जिल्लामा रहेका १६ वटा विभिन्न ग्यास उद्योगहरूमा सिलिन्डर रिफिल गरेर काठमाडाैं ल्याएकाे हाे ।

निगमका अनुसार भदौ १८ गते २४ हजार ४९४ सिलिन्डर, भदौ १९ गते ३४ हजार १३४ सिलिन्डर र भदौ २० गते २९ हजार २४९ सिलिन्डर गरी तीन दिनको अवधिमा कुल ८७ हजार ८७७ सिलिन्डर रिफिल गरेर काठमाडौँ भित्र्याइएको छ ।

आपूर्ति प्रणाली सहज राख्न सार्वजनिक बिदाका दिनमा पनि रिफिलिङ र ढुवानी सुचारु राख्न ग्यास उद्योगहरूलाई निर्देशन दिइएको छ ।

यसैबिच, भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायतका जिल्लाहरूमा क्षति पुगेपछि जारी खोज तथा उद्धार कार्यका लागि निगमले हवाई इन्धन र ग्यास उपलब्ध गराइरहेको छ ।

उद्धारमा खटिएका हेलिकप्टरहरूका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हालसम्म १,२०,००० लिटर हवाई इन्धन रिफ्युलिङ गराइसकिएको छ ।

साथै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा रसुवा र नुवाकोटका अस्थायी सेल्टरहरूमा ५७५ थान एलपी ग्यास सिलिन्डर पठाइएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्