काठमाडौं । रसुवाको बाढी पीडित र सरकारी कोषमा रकम जम्मा गर्ने विषयलाई लिएर नेपाल प्रहरीका आइजी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आइजी नारायणदत्त पौडेलबीच खटपट भएको छ । प्रधानमन्त्री राहत कोषमा दुवै प्रहरी संगठनले ठूलो परिमाणको रकम जम्मा गर्ने घोषणा गरेका थिए ।

नेपाल प्रहरीले ४० करोड र नेपाल प्रहरीले १५ करोड रुपैया जम्मा गर्ने निर्णय गरेर सार्वजनिक घोषणा पनि गरे । नेपाल प्रहरीले बाढीमा मृत्यु भएकाहरुको हकमा १० लाख दिने निर्णय गर्यो तर सशस्त्र प्रहरीले २५लाख दिने निर्णय गर्यो । यो विषयले दुवै प्रहरी संगठनमा हलचल आयो । यो निर्णय शुरुमा नेपाल प्रहरीले गरेको थियो । त्यसपछि सशस्त्र प्रहरीले पनि निर्णय गर्दा दुवै प्रहरी संगठनका प्रमुखबीच समन्वयको अभाव देखिएको स्पष्ट हुन्थ्यो ।
सरकारले सुरक्षा अंगलाई सुरक्षा भत्ता अपुग भएको भन्दै थपिदिने निर्णय गरेको बेला संगठन प्रमुखहरु जान्ने भएर सिपाहीको गाँस काटेर सरकारीकोषमा राहत किन जम्मा गर्नु परेको भन्दै आक्रोसित भएका छन् । उता दुवै प्रहरी प्रहरी संगठनका प्रमुखहरुले आफ्ना कर्मचारीको तलब काटेर सरकारी कोषमा रकम जम्मा गर्ने निर्णय गरिसके ।
साथै, नेपाल प्रहरीले मृतक परिवारलाई १० लाख दिने र सशस्त्र प्रहरीका परिवारलाई २५ लाख दिने विषयले नेपाल प्रहरीका महानिरीक्षकप्रति आक्रोस बढाएको छ । सशस्त्रले बढी रकम दिने भएपछि नेपाल प्रहरीका आइजीप्रति आक्रोसित भएका हुन् । यो विषयले पनि आइजीद्वय कार्की र पौडेलबीच खटपट भएको बताइन्छ ।
उनीहरु एकै ब्याचका इन्स्पेक्टर हुन् । १८ चैत २०५४ मा उनीहरु दुवै जनाले नेपाल प्रहरीको इन्स्पेक्टरमा नाम निकालेका थिए । उनीहरुले सेवा प्रवेश गरेका बेला देशमा माओवादी द्वन्द्व सुरु भइसकेको थियो । तालिम पश्चात उनीहरु दुवै जनाले द्वन्द्वग्रस्त क्षेत्रमा खटिएर काम पनि गरे ।
माओवादी द्वन्द्व चरमकोत्कर्षमा पुगेपछि तत्कालीन सरकारले माओवादीसँग लड्न भन्दै २०५८ सालमा नयाँ फोर्स गठन ग¥यो, सशस्त्र प्रहरी बल । दानबहादुर कार्की नेपाल प्रहरीमै रहे भने नारायणदत्त पौडेल सशस्त्र प्रहरी बलतर्फ लागे । यही ब्याचका राजु अर्याल पनि सशस्त्र प्रहरी बलतर्फ लागे । उनी अहिले अवकाश भइसकेका छन् । अर्याल अवकाश भएपछि १९ बैशाखदेखि सशस्त्रको कमाण्ड पौडेलले सम्हालिरहेका छन् ।
२०५४ को इन्स्पेक्टर टोली निकै भाग्यमानि पनि देखियो । एकै ब्याचबाट एउटा आइजी हुँदै आएकोमा यो ब्याचबाट राजु अर्याल, नारायणदत्त पौडेल र दानबहादुर कार्कीसम्म तीन आइजी भए । उनीहरुबीच निकै हार्दिकता पनि थियो । समन्वय गरेर काम गर्ने, छलफल गर्ने, एकले अर्कोलाई प्रतिस्पर्धी भन्दा पनि सहयोगी भएर काम गर्ने चलन उनीहरुबीच थियो । आइजी भएपछिका केही समय उनीहरुबीच निकै राम्रो सम्बन्ध थियो ।
तर अहिले पछिल्लो समय भने प्रहरीका आइजी कार्की र सशस्त्रका आइजी पौडेलबीचको सम्बन्धमा कर्मचारीको रकम काट्ने र क्षतिपूर्ति दिने रकमको विषयमा मात्र होइन अन्य विषयले पनि खटपट उत्पन्न भएको छ । औपचारिक कार्यक्रममा बोलचाल बाहेक उनीहरुसँग अहिले पहिलाको जस्तो हार्दिकताको सम्बन्ध नभएको स्रोतको दाबी छ ।
यसअघि सार्वजनिक लेखा ससितिमा रास्वपाका सांसद खगेन्द्र सुनार निकै आइजी कार्कीविरुद्ध झुठो आरोप लगाउँदै आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले म्यादी प्रहरीको पोशाक खरिदमा भ्रष्टाचार भएको भन्दै बर्दी नै फुकाल्न लगाएर तत्कालै छानबिनको कठघरामा आइजी लाई ल्याउनुपर्ने भन्दै झोक्किएका थिए । राजु अर्यालदेखि दानबहादुर कार्कीसम्मलाई कठघरामा ल्याएर छानबिन गर्नुपर्ने उनको माग थियो । म्यादी प्रहरीको पोशाक खरिदमा भ्रष्टाचार भएको, आइजी को घरबाटै ३ करोड नगद चोरी भएको जस्ता गम्भीर आरोप लगाएका थिए । उनको प्रस्तुति पनि निकै आक्रामक र दोषी करार गर्ने किसिमको रहेको भन्दै त्यसबेला आलोचना समेत भएको थियो ।
पोशाकमा भ्रष्टाचार भएको विषय सांसद सुनारले उठाएरपछि कुनै पनि भ्रष्टाचार नभएको र छानबिनका लागि सहयोग गर्न तयार भएको भन्दै सशस्त्र आइजी पौडेलले जवाफ फर्काएका थिए । माग गरेअनुसार कागजात उपलब्ध गराउन तयार भएको भन्दै जस्तोसुकै छानबिनका लागि तयार भएको भनेर छोटो बोलेर आइजी पौडेलले आफ्नो कुरा टुंग्याएका थिए । तर प्रहरीका आइजी कार्कीले भने करिब ४५ मिनेट लामो भाषण हान्दै सांसद सुनारलाई चेतावनीसमेत दिएका थिए ।
‘प्रहरीलाई घिसार्छु भन्नेले नै नैतिकताको पाठ सिकाउन थालेको’ भन्दै ‘हामी कस्ताबाट शासित हुँदैछौं’ भन्ने जवाफ सांसद सुनारलाई फर्काएका थिए । नेमिङ, फेमिङ, ब्लेमिङ लगाउन हामीलाई पनि आउँछ, कसका उजुरी कहाँ छन्, ती उजुरीका फाइल हामीले पनि खोल्नुपर्ने हो भन्ने आशयमा आइजी कार्कीले चेतनावनी दिएका थिए । आइजी पौडेल नम्र रुपमा प्रस्तुत भएर जवाफ फर्काउँदा आइजी कार्की भने निकै आक्रामक रुपमा प्रस्तुत भएका थिए । पछि यही विषयलाई कार्की र पौडेलबीचको सम्बन्धमा दरार आएको स्रोतको दावी छ ।
दोषी करार गर्न खोज्दै आधार र प्रमाणबिना त्यत्रो आरोप लगाउँदा समेत कडा रुपमा प्रतिवाद गर्दै प्रस्तुत नभएको भन्दै आइजी कार्की सशस्त्र आइजी पौडेलसँग झोक्किएको स्रोत बताउँछ । तर पोशाक खरिदको गर्दा पौडेल भने सशस्त्रका आइजी थिएनन् । त्यही भएर पनि उनी स्वभाविक रुपमा कार्की भन्दा नम्र भएर प्रस्तुत भएको हुनसक्ने आकलन गरिन्छ । यो विषयलाई लिएर अहिले यी दुई आइजी बीचको सम्बन्ध नै पहिलाको जस्तो सुमधुर नरहेको स्रोतको दावी छ ।















