
काठमाडौं । रामेछापको खाँडादेवी–२ मझुवा नेवारटोलमा वृद्धवृद्धालाई बन्धक बनाएर चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २५ वर्षीय सुमन जर्घा मगर, ३२ वर्षीय दीर्घराज मोक्तान, ३३ वर्षीय पशुपति श्रेष्ठ, ४४ वर्षीय पिताम्बर तहतराज र ३८ वर्षीय दीपक भनिने गुणराज विश्वकर्मा रहेका छन् ।
प्रहरीका अनुसार यो समूहले १८ भदौको राति १२ बजेतिर नेवारटोलस्थित ८५ वर्षीय बखतमान लामा र उनकी श्रीमती ८६ वर्षीया कान्छी माया तामाङलाई उनीहरुकै घरमा बन्धक बनाएर लुटपाट गरेका थिए ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । पक्राउ परेका सुमन काठमाडौंको एक निजी विद्यालयमा चालकको रुपमा काम गर्छन् । उनको साथबाट २५ हजार नगद र मोबाइल, बा ७३ प ८७१२ को मोटरसाइकल बरामद भएको छ ।
दीर्घराज बसका सहचालक हुन् । उनको साथबाट ५२ हजार २ सय र डकैती गर्ने बेला लगाएको ज्याकेट र हाफ कट्टु समेत बरामद भएको छ ।
पशुपति भने मोटरसाइकल इनड्राइभ गर्ने व्यक्ति हुन् । उनीबाट पनि मोटरसाइकल र नगद ६ हजार ४६० रुपैयाँ बराम भएको छ । उनको लक्ष्मी सनराइज बैंकको खातामा १ लाख ३१ हजार रहेको पाइएको छ । पुराना सिक्का, सुनजस्तो औठी, बुद्धचित्तका २२ दान बरामद भएका छन् ।
पिताम्बर सुनचाँदी व्यवसाय गर्ने व्यक्ति हुन् । अर्का गुणराजबाट सुनका २ थान रिङ बरामद भएको प्रहरलिे जनाएको छ ।
वृद्धवृद्धालाई प्लाष्टिकको टेपले मुखमा बाँधेर आँखामा पट्टी लगाएर ज्यान मार्ने धम्की दिँदै गरगरहना तथा नगद लुटेर लगेको रामेछापका इन्स्पेक्टर कमल राउतले बताए ।















