Logo
Logo

बर्जरलाई १२ लाख क्षतिपूर्ति


0
Shares

काठमाडौं । घर तथा कार्यालयमा लगाउने रंग कमसल भएको भन्दै एक अन्र्तराष्ट्रिय कम्पनीलाई उपभोक्ता अदालतले क्षतिपूर्ति भराउने फैसला गरेको छ । काठमाडौंस्थित उपभोक्ता अदालतले विज्ञापनमा आकर्षक वारेन्टी देखाएर ग्राहकलाई कमसल रङ बिक्री गर्ने बहुराष्ट्रिय कम्पनी बर्जर पेन्ट्स र त्यसको डिलरलाई दोषी ठहर गर्दै पीडित उपभोक्तालाई साढे १२ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति भराउने ऐतिहासिक फैसला गरेको हो ।

अदालतका सदस्यद्वय गेहेन्द्र राज रेग्मी र आनन्दराज पोखरेलको इजलासले इजलासले ०८२ माघ २६ गते गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो । सो इजलाशले उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लंघन गरेको ठहर गर्दै उत्पादक कम्पनी बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालि र विक्रेता डिलर फ्रेन्ड्स फरेभर ट्रेडिङ प्रालिलाई कुल १२ लाख ७८ हजार ४ सय रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।

ललितपुरका सिद्धान्त श्रेष्ठ, भक्तपुरका दयाराम कार्की र काठमाडौंका दीपकराज गिरीले भक्तपुर घलातेस्थित फ्रेन्ड्स फरेभर ट्रेडिङबाट बर्जर कम्पनीको ‘वेदरकोट अलगार्ड’ र ‘वेदरकोट लङलाइफ’ रङहरू ७ देखि १० वर्षको वारेन्टी रहेको भनी खरिद गरेका थिए । उनीहरुले लगाएको रंग खुलिएपछि उपभोक्ता अदालतमा क्षतिपूर्ति दावी गर्दै मुद्धा दायर गरेका थिए ।

पीडित उपभोक्ताहरू सिद्धान्त श्रेष्ठले ६ लाख ३४ हजार ८ सय रुपैयाँ, दीपकराज गिरीले ३ लाख ४६ हजार १ सय रुपैयाँ र दयाराम कार्कीले २ लाख ९७ हजार ५ सय रुपैयाँ क्षतिपूर्ति पाउने आदेश गरेको पाइएको हो ।

उपभोक्ताहरूले क्रमशः २०७८ चैत १५, २०८१ वैशाख १९ र २०७६ भदौ ६ गते उक्त रङ खरिद गरी आफ्नो घरको बाहिरी भागमा लगाएका थिए । तर, रङ लगाएको ६ देखि ८ महिनाभित्रै घरको बाहिरी भित्ताको रङ खुइलिएर दाग तथा धब्बाहरू देखिएका थिए । पीडित ग्राहकहरूले डिलर दिनेश गिरीलाई जानकारी गराएपछि कम्पनीका प्रतिनिधिहरूले अनुगमन गरी मर्मत गर्ने आश्वासन दिए पनि पछि कुनै सुनुवाइ नगरेको र वारेन्टी दिन अस्वीकार गरेपछि उपभोक्ताहरू क्षतिपूर्तिको माग गर्दै अदालत पुगेका थिए ।

पीडित उपभोक्ताहरूले बर्जर कम्पनीले आफ्ना रङका बाल्टिन र बट्टाहरूमा ७ देखि १० वर्षको वारेन्टी लेखेको तर खरिद गर्दा कुनै पनि आधिकारिक वारेन्टी पेपर नदिएको दाबी गरेका थिए । पछि रङ खुइलिएर क्षति भएपछि वारेन्टी दाबी गर्न जाँदा कुनै किसिमको वारेन्टी उपलब्ध नभएको गैरजिम्मेवार जवाफ दिएका थिए ।

उपभोक्ताले रङ खरिद गर्दा बिल अनुसार भुक्तान गरेको कुल १२ लाख ११ हजार ६ सय ७६ रुपैयाँ ९१ पैसा रकम र त्यसको कानुन बमोजिमको क्षतिपूर्ति तथा मुद्दा दर्ता गर्दा लागेको सम्पूर्ण शुल्क विपक्षीहरूबाट भराउन माग गरेका थिए ।

डिलर कम्पनी फ्रेन्ड्स फरेभर ट्रेडिङका सञ्चालक दिनेश गिरीले उपभोक्ताहरूले आफ्नो पसलबाट बर्जरको रङ किनेको र केही महिनामै खुइलिएको कुरा सत्य भएको स्वीकार गरेका थिए । उनले आफूले उत्पादक कम्पनीसँग समन्वय गर्न खोजे पनि कम्पनीको उदासीनताका कारण समस्या समाधान हुन नसकेको बताएका थिए । सञ्चालक गिरीले उत्पादक कम्पनी बर्जरसँग २०७५ माघ ७ गते भएको डिलरसिप सम्झौताको दफा १२ लाई उद्धृत गर्दै सामान बुझिसकेपछि कुनै वारेन्टी नहुने र त्यसको जिम्मेवारी उत्पादकको नहुने सर्त राखिएको भन्दै पन्छिएको थियो ।

कम्पनीले एकातिर डिलरसँग ‘कुनै वारेन्टी नहुने’ भनी सम्झौता गर्ने र अर्कोतिर उपभोक्ता लोभ्याउन बट्टामा वारेन्टीको विज्ञापन गर्ने गरेको भन्दै गिरीले आफूले क्षतिपूर्ति तिर्न नपर्ने र यसको सम्पूर्ण दायित्व उत्पादक कम्पनीकै हुने जिकिर गरेका थिए । अर्कोतर्फ, मुख्य विपक्षी उत्पादक कम्पनी बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालिले भने अदालतको म्याद तामेल हुँदा पनि कुनै प्रतिउत्तर नफिराई म्याद गुजारेर बसेको थियो ।

अदालतले उपभोक्तालाई पुगेको हानी नोक्सानीको आधारमा प्रतिवादीहरूको दायित्व तय गरेको छ । उत्पादक कम्पनी बर्जर पेन्ट्सले १२ लाख १४ हजार ५ सय रुपैयाँ र डिलर फ्रेन्ड्स फरेभरका सञ्चालक दिनेश गिरीले ६३ हजार ९ सय रुपैयाँ क्षतिपूर्ति व्यहोर्नुपर्ने फैसला भएको छ । सो रकम कुल १२ लाख ७८ हजार ४ सय रुपैयाँ हुन आउँछ, जुन उपभोक्ताहरूले खरिद गरेको बिलको आधारमा दामासाहीले बाँडफाँड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्