Logo
Logo

प्रहरी स्टाफ कोर्ष परिमार्जन गरिने, डीआईजीको नेतृत्वमा समिति गठन


1.6k
Shares

काठमाडौं । नेपाल प्रहरीले ‘प्रहरीको स्टाफ कोर्स’ परिमार्जन गर्न समिति गठन गरेको छ । प्रहरी प्रधान कार्यालयले नायव महानिरीक्षक (डीआईजी) विश्व अधिकारीको नेतृत्वमा ७ सदस्यीय समिति समेत गठन गरेको हो ।

स्टाफ कोर्स अन्तर्गत पुलिस लिडरसिप एण्ड स्टाफ कोर्स (पीएलएससी)मा निर्धारित कोटाभन्दा न्यूनमात्रामा छनौट भएपछि कोर्स नै परिमार्जन गर्ने गरी समिति गठन गरिएको केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले जानकारी दिए ।

कोर्स परिमार्जनको तयारी अनुसार १७ भदौमा समिति गठन गरेर काम सुरु भएको र अब बाँकी काम समितिले प्रतिवेदन बुझाएपछि मात्रै अघि बढ्ने उनले बताए ।

उक्त समितिलाई १५ दिनको समय दिइएको छ । समितिले १५ दिनभित्र स्टाफ कलेज कोर्सबारे अध्ययन गरेर आफ्नो रायसहितको प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा बुझाउने छ । त्यसपछि बल्ल कोर्स परिमार्जन हुने र नहुने, परिमार्जन हुँदा के–के विषयहरू थपघट हुने भन्ने यकिन हुने बताइएको छ । समिति गठन भएकाले अहिले नयाँ ब्याचको भर्ना प्रक्रिया समेत रोकिएको छ ।

स्टाफ कलेज कोर्स औपचारिकमा रुपमा उद्घाटन भएको एक वर्षमै कोर्स परिमार्जनको अवस्थामा प्रहरी प्रधान कार्यालय पुगेको छ । २०८२ वैशाखमा तत्कालीन गृहमन्त्री रमेश लेखकको उपस्थितिमा पुलिस क्लब भृकुटीमण्डपमा एक कार्यक्रम गरी स्टाफ कलेज कोर्सको उद्घाटन गरिएको थियो ।

यो कोर्सलाई नेपाल प्रहरीभित्रको ड्रिम प्रोजेक्टको रुपमा समेत लिइएको थियो । करिब २० वर्षको प्रयासपछि सुरु गरिएको स्टाफ कलेज कोर्स भने अहिले एक वर्ष नपुग्दै परिमार्जनको अवस्थामा पुगेको छ । यसको मुख्य कारण भनकै धेरै परीक्षार्थी अनुत्तीर्ण हुनुसँग जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्