
काठमाडौं । यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खामा १०५ वटा पुल बगाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय योजना आयोगले संयुक्त रुपमा तयार पारेको प्रतिवेदनमा बाढीले ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुंगेमा क्षति पुगेको उल्लेख छ ।
बाढीबाट पुलमा कुल ११ अर्ब ३५ करोड ११ लाख रुपैयाँको क्षति पुगेको छ । जसमा मोटरेबल पुलमा ९ अर्ब ४१ करोड ४४ लाख रुपैयाँ र झोलुंगे पुलमा १ अर्ब ९३ करोड ६७ लाख रुपैयाँ क्षति पुगेको छ ।
बाढीबाट क्षति पुगका धादिङ, गोर्खा, नुवाकोट र रसुवाका उक्त मोटरेबल पुलको लम्बाई ३.३२ किलोमिटर लामो थियो । ३७ मध्ये ३३ पुल खोलामा बगेका छन् जसको लम्बाई २.७९२ किलोमिटर र आंशिक क्षतिको ४ पुलेको लम्बाई २४० मिटर छ ।
बाढीले धादिङका ८ वटा पुलमा क्षति पुगेको छ । जसमा ३ वटा पुलमा आंशिक क्षति पुग्दा ५ वटा पुल बगेका छन्। गोर्खाको १ पुल बगेको छ ।
नुवाकोटमा १५ वटा पुलमा क्षति पुगेको छ। १ वटा पुल आंशिक क्षति हुँदा १४ वटा पुल बगेका छन्। बाढीले रसुवाका १३ वटा पुल पुगेको छ। बाढीबाट धादिङका पुलमा २ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ, गोर्खाका पुलमा ४१ करोड ३० लाख रुपैयाँ, नुवाकोटका पुलमा ४ अर्ब ६५ लाख ७५ हजार रुपैयाँ र रसुवाका पुलमा १ अर्ब ७५ करोड ७४ लाख रुपैयाँको क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।
प्रभावित मोटरेबल पुलमध्ये नुवाकोटको हिस्सा ४०.५ प्रतिशत भने तीनमा भएको कुल क्षतिको हिस्सा ४९.५ प्रतिशत छ। धादिङको तलुनानमा रसुवामा प्रभावित पुलहरुको संख्या बढी देखिए पनि तिनको क्षतिको मूल्य भने कम हुनुका कारण पुलको लम्बाइ कम भएकाले हो।
बाढीबाट क्षति पुगेको ६८ वटा झोलुंगे पुलको लम्बाई १०.६७० किलोमिटर छ। जसमा डी टाइप झोलुंगे पुल ४९ वटा र एन टाइप झोलुंगे पुल १९ वटा छन्। क्षतिग्रस्त पुलको पुनस्र्थापनागर्न १८ अर्ब १६ करोड १७ लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । जसमा तत्कालका लागि १ अर्ब ५५ करोड र दीर्घकालीन पुनस्र्थापनाका लागि १६ अर्ब ६१ करोड १७ लाख रुपैयाँ लाग्ने प्रतिवेदनमा उल्लेख छ ।

















