Logo
Logo

सर्वोच्च भवनमा रहस्यमय आगलागी


504
Shares

काठमाडौं । जेनजी विद्रोहको क्रममा आगलागी भएर थिलथिलो भएको सर्वोच्च अदालतको नयाँ भवनमा पनि आगलागी भएको छ । आगलागीबाट अदालती विभिन्न कागजात र प्रमाणहरु नष्ट भएको बताइएको छ ।

भ्रष्टाचार विरोधी अभियान ‘सत्य र न्यायको खोजी अभियान’ले उक्त आगलागीलाई सुनियोजित भन्दै, नयाँ भवन निर्माणमा भएको झण्डै २ अर्ब रुपैयाँको घोटालाका प्रमाणहरू नष्ट गर्न अभिलेख कक्षमा आगो लगाइएको दाबी गरेको भएपनि त्यसलाई तथ्यगत रुपमा विश्वास गर्ने अवस्था छैन ।

यद्यपि केही प्रश्नहरु भने अवश्य उठेका छन् । २०८३ भदौ १७ गते मध्यरातमा नयाँ भवनको भुइँतलामा रहेको अभिलेख शाखाको कक्षमा आगलागी भएको थियो । यसअघि २०८२ भदौ २४ गते पनि आगलागी भएको प्रसंग उठाउँदै, भदौ १७ को आगलागीबाट बाँकी रहेका महत्त्वपूर्ण कागजात नष्ट गरिएको हुन सक्ने गम्भीर संशय गर्न थालिएको छ ।

८ अर्बौं खर्चमा निर्मित नयाँ भवन सञ्चालन हुनुपूर्व त्यहाँ जडित विद्युतीय प्रणालीको गुणस्तर परीक्षण र अनुमोदन नगरि कसरी त्यो भवन सञ्चालनमा आयो भन्ने प्रश्न भदौ १७ गतेको आगलागी पनि उठेको छ ।

अभिलेख शाखा र प्यासेजमा सीसीटीभी क्यामेरा जडान गरिएको थियो वा थिएन, र आगलागीको बखत ती सक्रिय थिए वा निष्क्रिय अवस्थामा राखिएका थिए भन्ने बारेमा पनि संशय उत्पन्न भएको छ । आगलागीबाट जोगिन फायर अलार्म वा स्मोक डिटेक्टर जस्ता उपकरण जडान किन गरिएन भन्ने अर्को प्रश्नले सर्वोच्चको प्रशासनलाई शंकामा राखेको छ ।

त्यहाँ के के कागजपत्रहरु रहेको के जलेका थिए भन्ने बारेमा केही खुलाइएको छैन । कागजातहरू मुद्दाका मिसिल हुन् वा अदालत प्रशासन तथा नयाँ भवन निर्माणसँग सम्बन्धित कागजातहरू थिए भन्ने बारेमा पनि केही खुलेको छैन । भदौ १७ गते राति नै काठमाडौं महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

स्रोतका अनुसार राति साढे १२ बजे भुइँ तलामा रहेको अभिलेख शाखामा आगलागी भएको थियो । विद्युत सर्ट भएर आगो लागेको सर्वोच्च प्रशासनले जनाएको छ । स्रोतका अनुसार तीन वटा स्टिलको दराजमा भएको प्रमाण मिसिल जलेको थियो । यो विषयमा सर्वोच्च प्रशासनले केही पनि बताएको छैन ।

प्रतिक्रिया दिनुहोस्