Logo
Logo

जो भाइरल उसैमाथि आरोप


252
Shares

काठममाडौं । सल्यानको डिएसपी हुँदा एउटा प्रहरी अफिसरको भिडियो भाइरल हुन्थ्यो । गरिबीमा मल्हम लगाइरहेका भिडियो, सडक पेटीमा प्रहरीले काम गरिरहेका भिडियो क्लिपहरु सार्वजनिक भइरहे । उनका मिठा भाषण पनि सार्वजनिक भए । तर ती व्यक्ति अहिले आर्थिक अनियमितताको आरोपमा छानबिनमा छन् भन्दा धेरैलाई आश्चर्य लाग्नसक्छ ।

यतिबेला पाँच जनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनाको अनुसन्धानमा गम्भीर त्रुटि भएको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानका तत्कालीन प्रहरी प्रमुख डीएसपी हेमबहादुर केसी र इलाका प्रहरी कार्यालय लुहामका तत्कालीन प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङ छानबिनमा तानिएका छन् ।

दुर्घटनाका वास्तविक चालकलाई उन्मुक्ति दिएर आर्थिक प्रलोभनमा अर्कै व्यक्तिलाई चालकका रूपमा खडा गरी मुद्दा चलाइएको आरोपपछि कर्णाली प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरिरहेको छ ।

२०८२ असोज १२ गते सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलास्थित राप्ती राजमार्गमा लु २ ख ६५०२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनाको अनुसन्धानका क्रममा वास्तविक चालकलाई जोगाएर कपुरकोट–३ डाँडागाउँका ३८ वर्षीय कर्णबहादुर खड्कालाई ‘नक्कली चालक’ का रूपमा खडा गरी मुद्दा चलाइएको आरोप छ । आर्थिक लेनदेनमा आफूलाई चालक बनाएर जेल पठाइएको खड्काको दाबी छ ।

घटनामा तत्कालीन डीएसपी केसी, इन्स्पेक्टर गुरुङ, सवारी धनी बसन्त केसी, वास्तविक चालक देवबहादुर बिक र यातायात व्यवसायी न्युटन श्रेष्ठलगायतको भूमिकामाथि अनुसन्धान भइरहेको छ । उजुरी परेपछि विशेष सुरक्षा गण नेपालगन्जका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरको नेतृत्वले छानवीन गरिरहेका छन् ।

नक्कली चालकलाई चार लाख रुपैयाँ दिने र २२ दिनभित्र जेलबाट निकालिदिने आश्वासन दिइएको थियो । श्रीमती गर्भवती भएकाले आर्थिक समस्यामा रहेका उनी रकम र छिट्टै छुट्ने आश्वासनमा नक्कली चालक बन्न तयार भएका थिए ।

उनलाई चार लाख रुपैयाँ नगद दिइयो र बयानका क्रममा के बोल्ने भन्ने विषयमा समेत सिकाइयो । तर अदालतले उनलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने फैसला ग¥यो । जिल्ला अदालत सल्यानका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले २०८२ माघ ७ गते उक्त फैसला गरेको हो । खड्का ११ महिनादेखि सल्यान कारागारमा छन् ।

खड्का जेलमा रहेकै बेला २०८२ मंसिर २२ गते उनकी श्रीमती बिमला केसीले काठमाडौंमा छोरी जन्माइन् । बिमलाका अनुसार उनका श्रीमान् दुर्घटनाको वास्तविक चालक नभए पनि उनलाई चालकका रूपमा प्रस्तुत गरिएको हो । उनले घटनाको पुनः निष्पक्ष अनुसन्धान गरी वास्तविक चालक को थियो भन्ने यकिन गर्न माग गरेकी छन् ।

यातायात व्यवसायी न्यूटन श्रेष्ठको खातामा ९ लाख रुपैयाँ आएको बुझिएको र उनी नै कुरा मिलाउने मुख्य भूमिकामा देखिएको अनुसन्धानमा खुलेको छ । वास्तविक चालकलाई कुन अवस्थामा पक्राउ गरिएको थियो, पछि कसरी सहचालक बनाइयो, खड्कालाई कसले चालकका रूपमा खडा ग¥यो र आर्थिक लेनदेनमा उनै डिएसपी मुछिए ।

हाल जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत डीएसपी केसीको बयान समितिले लिइसकेको छ । तत्कालीन इन्स्पेक्टर गुरुङलाई पनि झिकाएर बयान लिइएको छ । जतिबेला सल्यानमा गरिबलाई पैसा बाँडेको भाइरल भिडियो तस्वीर खिच्दै थिए त्यही बेला यो घट्ना भएको पनि स्रोतले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्