काठमाडौँ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा आगामी २०८३ मंसिर ६ गते (२२ नोभेम्बर २०२६) काठमाडौँको दरबारमार्गमा ‘नेपाल–जापान महोत्सव २०२६: संस्कृति मार्फत ऐक्यबद्धता’ आयोजना हुने भएको छ। ‘नेपाल–जापान महोत्सव २०२६ कार्यकारी समिति’को आयोजनामा यो कार्यक्रम हुन लागेको हो।

यस महोत्सवले नेपाली तथा जापानी संगीत, कला-संस्कृति र जनस्तरको सम्बन्धमार्फत आपसी मित्रता, सद्भाव र ऐक्यबद्धतालाई प्रवर्द्धन गर्नेछ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा प्रख्यात जापानी ब्यान्ड ‘गोडाइगो’को विशेष सांगीतिक प्रस्तुति रहनेछ। सन् १९८० मा दशरथ रंगशालामा ऐतिहासिक कन्सर्ट गरेको चार दशकभन्दा बढी समयपछि यो ब्यान्ड पुनः नेपाल फर्कन लागेको हो। उनीहरूको यो पुनरागमनले नेपाल र जापानबीचको लामो सांस्कृतिक सम्बन्धमा एक महत्त्वपूर्ण एवं प्रतीकात्मक आयाम थप्नेछ।
यसका साथै, महोत्सवमा नेपालका ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहनुका साथै दुवै देशको प्रतिनिधित्व हुने विभिन्न सांस्कृतिक, पर्यटकीय तथा व्यापारिक प्रदर्शनीहरूसमेत समावेश गरिनेछ।
हालै भोटेकोशी नदीमा आएको बाढीको विषम परिस्थितिलाई दृष्टिगत गर्दै, कार्यक्रमको आवश्यक खर्च कटाएर संकलन हुने सम्पूर्ण बचत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिनेछ।
यस महोत्सवले पर्यटन प्रवर्द्धन गर्नुका साथै अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचानलाई थप उजागर गर्दै देशको आर्थिक पुनरुत्थानमा सकारात्मक टेवा पुर्याउने विश्वास लिइएको छ।















