
काठमाडौं । हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरू राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले हिमालय एअरलाइन्सका कर्मचारीहरूले स्वेच्छिक रूपमा १४ लाख ७० हजार ६६६ रुपैयाँ रकम संकलन गरेका छन् ।
सो रकममध्ये १० प्रतिशत रकम विपद्बाट प्रत्यक्ष प्रभावित हिमालयका कर्मचारीको परिवारलाई प्रत्यक्ष सहयोगस्वरूप उपलब्ध गराइएको छ भने बाँकी १३ लाख २० हजार ६६६ रुपैयाँ हालैको रसुवा बाढीबाट प्रभावित पीडितहरूका राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पु¥याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
राष्ट्रिय विपद्को यस कठिन घडीमा बाढी प्रभावित नेपाली नागरिकहरूप्रति ऐक्यबद्धता प्रकट गर्दै हिमालय एअरलाइन्स्का विभिन्न विभागमा कार्यरत कर्मचारीहरूले स्वेच्छिक रूपमा आ–आफ्नो तर्फबाट योगदान संकलन गरी उक्त रकम प्रदान गरेका हुन् ।
आर्थिक सहयोगका साथसाथै हिमालय एअरलाइन्सका कर्मचारीहरू एकजुट भई लुगाफाटा संकलन गरी काठमाडौं स्कुल अफ लमा प्रदान गरेका छन, जसले विपद्बाट प्रभावित समुदायलाई आवश्यक सामग्री उपलब्ध गराउने प्रयासमा टेवा पुर्याउनेछ । कर्मचारीहरूको यस स्वतःस्फुर्त पहलले मानवीय संवेदना, सामाजिक उत्तरदायित्व तथा राष्ट्रिय विपद्का समयमा राष्ट्रसँगै उभिने हिमालय एअरलाइन्स् परिवारको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।
हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले बाढी प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनामा सहयोग पर्याउने उद्देश्यले हिमालय एअरलाइन्स्का कर्मचारीहरूले प्रदान गरेको १३ लाख २० हजार ६६६ रुपैयाँको चेक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेल (गणेश) लाई हस्तान्तरण गरे ।
गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण त्रिशुली करिडोर आसपासका विभिन्न बस्तीहरूमा व्यापक जनधनको क्षति हुनुका साथै कैयौँ नागरिकहरू विस्थापित भएका छन् भने घर, सडक, पुल तथा अन्य महत्वपूर्ण भौतिक पूर्वाधारमा व्यापक क्षति पुगेको छ ।
यस विपद्बाट प्रभावित नागरिकहरूको तत्कालीन राहत, उद्धार तथा दीर्घकालीन पुनस्र्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले हिमालय एअरलाइन्सका कर्मचारीहरूले आफ्नो तर्फबाट संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रत्यक्ष रूपमा जम्मा गरेका छन् ।
हिमालय एअरलाइन्सले विपद्का समयमा प्रभावित समुदाय तथा राष्ट्रसँग ऐक्यबद्धता जनाउँदै मानवीय सहायता र सामाजिक उत्तरदायित्वका कार्यमा निरन्तर सहयोग पुर्याउँदै आएको छ ।















