काठमाडौं । गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको लामो समयसम्म खोजी गर्दा पनि अवस्था पत्ता नलागेपछि परिवारजनले कुशको शव बनाएर अन्तिम संस्कार गर्ने भएका छन् । उनको परिवारले भोली शनिवार कुशको शव बनाएर अन्तिम संस्कार गर्ने निर्णय गरेको हो ।

समाजवादी प्रेस सङ्गठन, नेपालले यस दुःखद खबरप्रति गहिरो दुःख व्यक्त गर्दै दिवङ्गत पत्रकार थामीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “समाजमा सत्य, तथ्य र सूचनाको निरन्तर प्रवाहका लागि आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्दै आउनुभएका पत्रकार थामीलाई गुमाउनुपर्दा नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । उहाँले पत्रकारिता क्षेत्रमा पुर्याउनुभएको योगदान सधैँ स्मरणीय र सम्मानित रहिरहनेछ ।”
पत्रकार थामी एक दशकभन्दा लामो समयदेखि नयाँ पत्रिका दैनिकमा कार्यरत थिए । केरुङ जानका लागि उनी गत भदौ ९ गते टिमुरे पुगेका थिए । भोलिपल्ट बिहानै आएको भोटेकोशीको बाढीपछि उनी सम्पर्कविहीन भएका थिए । नेपाल र चीन दुवैतर्फ उनको खोजी भएको थियो । तर, भौतिक शरीर फेला पार्न सकिएन ।
परिवारजनले तत्कालीन परिस्थितिलाई ध्यानमा राख्दै बाध्यतावश कुशको शव बनाएर अन्तिम संस्कार गर्नुपर्ने अवस्था आएको हो । यस्तो पीडादायी अवस्थामा शोकसन्तप्त परिवार, आफन्त तथा सहकर्मी पत्रकारहरूप्रति समवेदना व्यक्त गर्दै समाजवादी प्रेस सङ्गठन, नेपालले दिवङ्गत पत्रकार टेकराज थामीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।















