काठमाडौं । जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा. सीके राउत निर्वाचित भएका छन् । पार्टीको दोस्रो महाधिवेशन अन्तर्गत बिहीबार मनोनयन पत्र दर्तामा अध्यक्ष पदमा डा.राउतको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।

अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदमा निर्वाचन हुने छ । जनमत पार्टीको दोश्रो महाधिवेशन आगामी असोज ९ र १० गते वीरगञ्जमा हुँदै छ । उम्मेदवारको प्रारम्भिक सूची अनुसार ७ जना उपाध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी परेको छ ।
उपाध्यक्ष पदमा वसन्तकुमार कुशवाहा, अनिता साह, अनिता मण्डल , डा. जयकान्त राउत, नरेन्द्रप्रसाद चौधरी र माधवप्रसाद सिंह को उम्मेदवारी परेको छ । सोही पदमा राजकुमार यादव त्यागी, डा.कमरुल्लाह अंसारी, सञ्ज्यकुमार मिश्र , मदनेशकुमार चौधरी, परमेश्वर मुर्मु , रोसन खातुन , हरपाल सिंह सोडी र मनोहरी देवी वैठाको उम्मेदवारी परेको छ ।
एक जना महासचिव पदमा ममता झा, चन्दनकुमार सिंह (महोतरी) र संजयकुमार यादवको उम्मेदवारी परेको छ । एक जना निर्वाचित हुने उप महासचिवमा निर्मलकुमार मण्डल सिरहा र ललितचन्द्र मल्लिक रौतहटको उम्मेदवारी परेको छ ।
७ जना निर्वाचित हुने सचिव पदमा १० जनाको उम्मेदवारी परेको छ ।















