
काठमाडौं । नेपाली कांग्रेसले पाँच वटा जिल्लाका सभापतिलाई लेबी बुझाउन निर्देशन दिएको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले भदौ ३१ मा पाँच वटा जिल्लाका सभापतिलाई पत्र पठाएर तत्काल लेबी बुझाउन भनेका हुन् ।
जसमा बाग्लुङका सभापति जीत शेरचन, बझाङका खड्कबहादुर बोहरा, डोटीका नरेन्द्रबहादुर सिंह, कञ्चनपुरका पदम बोगटी र मुगुका ऐनबहादुर शाहीलाई पत्र पठाएर लेबी बुझाउन निर्देशन दिइएको छ ।
कांग्रेसको १५औं महाधिवेशनको प्रयोजनका लािग क्रियाशील सदस्यताको रकम वडा तह हुँदै जिल्लामा आइसकेको भए पनि केन्द्रमा नबुझाएको पत्रमा उल्लेख छ । उनीहरूलाई असोज २ गते दिउँसो १ बजेसम्म बैंक खातामा दाखेला गर्न भनिएको छ ।
पत्रमा भनिएको छ, ‘हालसम्म पनि क्रियाशील सदस्यता वापत उठेको रकम केन्द्रमा दाखिला नगरेको हुँदा क्रियाशील सदस्यता वापतको सम्पूर्ण रकम २०८३ असोज २ गते १ बजेभित्र नेपाली कांग्रेस केन्द्रीय कार्यालयको देहायको खातामा जम्मा गर्न हुन निर्देशानुसार अनुरोध गरिन्छ ।’
कांग्रेसले असोज १६–१९ मा महाधिवेशन गर्दै छ । महाधिवेशनमा सहभागी नभएको भन्दै कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी खोसिएको छ ।
पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशन गर्दै छ । उनीहरू देउवा पक्षमा उभिएपछि कांग्रेसले जिम्मेवारी खोसेको बताइएको छ ।















