काठमाडौँ । नेपाल वायुसेवा निगम (नेवानि) का दुवै ठूला (वाइडबडी) विमान ‘ग्राउन्डेड’ भएपछि अन्तर्राष्ट्रिय उडान सेवा पूर्ण रूपमा अस्तव्यस्त बनेको छ।

विमान अभावका कारण निगमले यो साता जापानको नारिताका लागि तय गरिएका उडान रद्द गरेको छ भने अन्य गन्तव्यका उडानमा ढिलाइ र तालिका परिमार्जन गर्दै सञ्चालन गरिरहेको छ। यसबाट निगमको टिकट लिएका हजारौँ यात्रु प्रभावित बनेका छन्।
निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार एउटा वाइडबडी विमान प्राविधिक समस्याका कारण जापानमा रोकिएको छ भने अर्को नियमित मर्मतसम्भारका लागि इटाली लगिएको छ।
जापानको नारिता विमानस्थलमा अवतरणका क्रममा विमानको इन्जिन ब्लेडमा कुनै वस्तु ठोकिएर ‘ल्यान्डिङ गियर’ मा समेत असर परेकाले उक्त विमान नारितामै ‘ग्राउन्डेड’ भएको हो। हाल इन्जिन निर्माता कम्पनीको परामर्शमा विमानको मर्मत भइरहेको छ।
इटाली लगिएको अर्को वाइडबडी विमान भने आगामी साता मात्रै सेवामा फर्किने अपेक्षा छ। दुवै ठूला विमान थन्किएपछि वाइडबडीबाट मात्रै सेवा दिँदै आएको नारिता गन्तव्यको उडान पूर्ण रूपमा ठप्प भएको छ।















